Logo

हिमालको आवाज-७

 -साहित्यकार ,दामोदर पुडासैनी किशोर

म हरेक क्षण युद्ध गर्छु

र युद्धमा रमाउँछु

गर्भपात गर्नेहरू मेरो सामु

चल्ला चोर्ने स्यालझैँ

मौका खोज्दै दौडिरहन्छन्

 म रतन्धो भजन गाउँने हुँडारहरूलाई

सबकका साँग्लाहरूले बाँधिदिन्छु

 

मान्छेहरू,

ईश्वरको जन्म र

मृत्युको विवादमा

समय टोकिरहेछन्

दिनदिनै लेखिरहेछन्

धर्मका विवादास्पद शास्त्रहरू

म विवादमा जन्माइएको

ईश्वरको सट्टा

म जे देखिन्छु त्यो मात्र

हुँ भनिरहेछु

मेरो शक्तिलाई

शंकाको तुलोमा राख्न

खोज्नेको लागि

भव्य स्वागत द्दार उभ्याइरहेछु

 

चुल्ठोमा आगोको फूल रोप्नेहरू

ट्राउट माछाझैँ

शिकारी बल्छी कुरिरहेछन्

 

मेरो आँखाको पानीलाई

प्रतिबन्धित गर्न खोज्दैछ

केही  संविधानका धाराहरूले

 

मेरो संविधानमा

 परिवर्तन बाहेक

अरू सत्य केही छैन भन्ने धारा

शिलाकलामा निक्खर उभिइरहेछ

 

मेरो अनुहारभरि

सुनपाति उम्रिएको छ

तिम्रो केशराशीमा

ब्युँझिएका अक्षरहरू जस्तो

म राँको बालेर संसारका

नक्कली सिमानाहरू भत्काइरहेछु

 

घामको पुरुषत्व  जाँच्न

आँट गर्नेहरू

आऊ मार्च पास गर

मेरो छातीका डिलहरूमा

 हिउँमा आगो लगाउनेहरूको

विस्फोट हुन्छ कुनै दिन छातीमा

 

-२०७६ भाद्र २८ शनिवार स्याँगबोचे,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।

                                            –सम्पादक

प्रतिक्रिया दिनुहोस्