Logo

हिमालको आवाज-२८

      – साहित्यकार डा.दामोदर पुडासैनी किशोर

म जतिपटक  लडेँ त्यतिपटक उठेँ

अहिले तिमीलाई अँगालो मारेर उभिइरहेछु

 

संसारका कुनै पर्खालहरूले मलाई छेक्न सक्ने छैनन्

सूर्यलांईजस्तै कुनै पर्दाले छेक्न सक्ने छैनन्

म बाँच्नको लागि मात्र उभिएको होइन

म बाँच्नुमा आकर्षण छ एउटा

आकर्षण तिमीसम्म फैलिरहेछ

 

मेरो आफ्नै जीवन घडी छ टिक टिक टिक ……

 हरेक क्षणको हिसाब लेखिएको छ

 जीवनका अध्यायहरूमा

 

कयौँ भेटिएकाहरू छुटे जीवन किनारहरूबाट

अहिले तिमीलाई भेटेपछि

उकालाहरू ओरालाझैँ लागिरहेछन्

 

 समय मुठ्ठीमा च्यापेर

 तिमी म माथि चढिरहेको बेला

प्रत्येक पलहरूमा म पो चढिरहेको हुनेरहेछु

तिम्रा आँखाका गहिराईहरूमा

 

तिमीले मलाई ऐना बनायौ

र  हेर्यौ तन र मनको प्रतिबिम्ब

तिम्रै प्रतीक्षामा टाँगिएको छ

मेरो मनको भित्तामा

एउटा सफा र फराकिलो सिसा

 

सगर छोएर उभिन्छु दौडँदै दौडँदै

तिम्रा छालहरूका सागर अँजुलीमा खेलाएर

भर्खर पाउला पलाइरहेको रूख बनेर उभिन्छु

पूर्णेको जून किन अल्झियो रूखको काप कापमा

जून भित्र पनि मीठो पदचापको

नयाँ नयाँ नोटेशन लेखिरहेछु

 

-२०७६ भाद्र ३१ गते सोलुखुम्बु,सगरमाथा

नोट – आदरणीय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि डा.दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि डा.दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो । हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’ नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र डा.दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौँ । अझ खुशीको कुरा त डा .दामोदर पुडासैनी किशोर लेखापरीक्षण विषयमा विध्यावारिधि गर्ने नेपालको पहिलो विद्दान हुनुहुन्छ । आर्थिक व्यवस्थापन ,जीवनदर्शन र भ्रमणबाट खारिएका उहाँका कविताहरू हामीले निरन्तर प्रकाशित गरिरहेका छौँ । हजुरहरू जस्ता आदरणीय पाठकहरूले साह्रै मन पराइदिनुभएकोले हामी अत्यन्त उत्साहित छौँ । 

                                                                          –सम्पादक

प्रतिक्रिया दिनुहोस्