Logo

हिमालको आवाज-२९

    – साहित्यकार डा.दामोदर पुडासैनी किशोर

उकालो ,असाध्यै उकालो चढिरहेको बेला

धेरै ठाउँमा स्वागत गरेर बसिरहेको भेट्न सकिन्छ मृत्यु

 क्षण क्षणमा मृत्युलाई धक्का दिँदै

यस बेलासम्म अघि बढिरहेछ जीवन

 

जब फलाम बन्न थाल्छन् माटो र ढुङ्गाहरू

चट्टान बन्न थाल्छन् पानीका सबै थोपा

जाडोले बेस्सरी काँपेर भाग्छ सुबिधा भोगी ठाउँतिर

मान्छेले निर्माण गरेको छली ईश्वर

 

ईश्वर र मृत्यु सबैलाई पाखा लगाएर

तिमीले मात्र मलाई फकाउन सक्यौ

तिमीले मात्र मलाई मनाउन सक्यौ

र ,तिमी आयौ मेरा सारा परीक्षाको सामना गरेर

म तिम्रो वीरतालाई सलाम गर्छु

स्वागत गर्छु आफ्नो सम्पूर्ण उचाइसम्म

 

रातहरू भागिदिन्छन् मेरो सामु

तिम्रो सम्झना जागा भइदिँदा

निदाउन सक्दैनन् कुनै रातहरू

तिमी नभएपछि एकान्तनै प्रिय छ मेरो लागि

 

एकान्तभित्रनै छन् तिम्रा सम्झनाका छाँगा

र झरनाका कल्लोल आवाजहरू

सम्झनाले नै मुटुमा ढुँगा खस्दाका डरलाग्दा घाउहरू

सम्झनाले जलेर हिम पहिरो ढल्दाका

बीभत्स कम्पनहरू

 

तिम्रा सम्झनाहरू हिउँ बनेर बर्सन थालेपछि

मरुभूमि पल्टिएको मेरो मनमा

उफ्रन थाल्छन् नीला हिम कुहिरो

र हिम बतासका झोक्काहरू

 

एकान्त ,बिलकुल एकान्त हुँदै तिमीसम्म आइपुग्दा

बादलुएकान्त हिँड्न खोजिरहेछु

आकाशगङ्गामा किन ताराहरू एकान्त चम्केर

आनन्द लिन्छन्

जङ्गलभरि किन रूखहरू एक्लै उभिएर

हाँगा हाँगा हुँदै आकाशमा फैलने गर्छन्

 

म हरेक क्षण युद्ध गरिरहेछु एकान्त युद्ध

एकान्त युद्धले नै निम्त्याउने हो

 संसार हल्लाउने बबण्डरहरू

 

तिमी पनि एउटा युद्धमा होमिरह्यौ जीवन भरी

र त ,भेट भएको छ उज्यालो उचाईमा

युद्ध सकिएको दिन तिमी र म दुवै सकिनेछौँ

पग्लेको हिउँ जसरी

 

हरेक घर घरमा एकान्त युद्ध गरिरहेका छन्

बुढा बुबा आमा हरेक शिविरहरूमा

चुपचाप युद्ध गरिरहेछन्

जीवनको घाम खोज्न हिँडेका मान्छेहरू

 युद्ध मोर्चामा नभै नहुने कहाँ छ र तोप र गोली ?

तिम्रो उपस्थितिको प्रार्थनामा युद्ध गर्दै

चढिरहेछु म माथि माथि

खुशीको होस् या हाँसोको

तिमीले आँसु खसालिरहेको बेला

मैले पनि झारिरहेछु नीला झरनाहरू

 

उकालो चढ्दै चढ्दै एकदिन तिमी हिमाल आएपछि

तिमी हिमालनै बनेर हिँडिरह्यौ

म भने बगिरहेँ कसैको पछि पछि

 

मृत्यु त कुनै बेला तिमीले पनि भेट्नुपर्छ ,

मैलेपनि भेट्नुपर्छ

मृत्यु स्पर्श गरेको दिनलाई

कसरी प्रेमोत्सव बनाउने हो

सोचिरहेछु ,खोजिरहेछु

 

-२०७६ आश्विन ३गते सोलुखुम्बु ,सगरमाथा

नोट – आदरणीय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि डा.दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि डा.दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो । हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’ नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र डा.दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौँ । अझ खुशीको कुरा त डा .दामोदर पुडासैनी किशोर लेखापरीक्षण विषयमा विध्यावारिधि गर्ने नेपालको पहिलो विद्दान हुनुहुन्छ । आर्थिक व्यवस्थापन ,जीवनदर्शन र भ्रमणबाट खारिएका उहाँका कविताहरू हामीले निरन्तर प्रकाशित गरिरहेका छौँ । हजुरहरू जस्ता आदरणीय पाठकहरूले साह्रै मन पराइदिनुभएकोले हामी अत्यन्त उत्साहित छौँ । 

                                                                          –सम्पादक

प्रतिक्रिया दिनुहोस्