Logo

लघुकथा – गौँथलीको मन

                    – निशा केसी

” अमेरिकामा निकै जाडो छ रे अचेल । एक जोडीले नपुग्ला भनेर अर्को पनि ल्याइदिएको छु । लाज नमानी लगाउनु है आमा ।” थर्मकोटको पोको छोरीले सुटकेशमा थन्क्याई । अमेरिकाको भिसा लागेपछि आफन्त र इष्टमित्रको घुइँचो लाग्यो घरमा । दसैँमा टिका थाप्न छाडेका नातेदार पनि बधाइ, शुभकामना र उपहारको पोको बोकेर आउन थाले । अमेरिका भन्ने पनि गजबकै रहेछ । तोडेको सम्बन्ध जोडिने र जोडेको सम्बन्ध तोडिने । गौँथलीले पुलुक्क बाख्राको खोरतिर हेरी । घाँस खाइसकेर डोरीमा झुण्डिएको डाँठ पनि चपाउन तँछाड मछाड गर्दै थिए बाख्राहरू । पिँढीमा चमेलीका बा र तल्लाघरे काका मिलेर अमेरिका लैजाने गुन्द्रुक मस्यौरा पोको पार्दै थिए ।

“छोरो भनेको छोरै हो । आखिर तेत्रा वर्षसम्म बाउआमाको खोजखबर नगरे पनि अहिले आमालाई अमेरिका बोलायो गाँठे । चार अक्षर नपढे पनि अमेरिका जान पाउने भई । भाग्यमा त लेखेर ल्याएकी रहिछे गौँथलीले ।” काकाले भने । “त्यही त भन्नुपर्यो नि काका । खै त हाम्रा भाग्यमा त लेख्या रैन छ त ।” चमेलीका बाले हाँसो गरे । ल यो कुराले गौँथलीको अन्तर मन चसक्क छोयो । उसले सम्झी, पाँच हल गोरू लाग्ने डोल खेत चमेलीका बाले बेच्न नमान्दा कत्रो रणसंग्राम मच्चाएथ्यो छोराले । अंश मुद्दासम्म हाल्न तम्सेको थियो । उसैले थामथुम पारेकी थिई बाबुछोरालाई । कसैलाई भन्न नमिल्ने सन्तानले दिएका पीडा सम्झँदै त्यस रात उसले बूढाको मन छाम्ने कोशिस गरी । “दुबैलाई बोलाको भए कत्ति जाती हुन्थ्यो हगि कान्छाले ।”

“तँलाई पो नाती स्याहार्न भनेर बोलायो त । मलाई किन बोलाउँथ्यो ?” उनका गह रसाए जस्तै लाग्यो गौँथलीलाई । त्यस रातभरी ऊ निदाइन । उसको मनमा नानाभाँती कुरा छड्कन थाल्यो । ऊ विरामी परेको बेला छोराले एक गिलास पानी तताएर दिनसम्म पनि झर्कोफर्को गरेकाले कसरी चित्त दुखाएर रातभरी सिरानी भिजाएकी थिई । जाने दिन गौँथली अल्याङमल्याङ गरिरहेकी थिई । “लौ, आमा त अहिलेसम्म तयार नै हुनुभएको रैनछ । कति अलमल गरिराख्या भन्या ।” ढोकामा राखेको घडामा लालुपाते घुसार्दै छोरीले भनी । त्यसैबेला बाको मोबाइल बज्यो । कल अमेरिकाबाट रहेछ । बाले भने, “हिँड्नै आँटी, ल ल तँ ढुक्क हो बाबु ।” गौँथलीले हत्त न पत्त लोग्नेको हातबाट मोबाइल लिई र भनी, “बाबु, बालाई एक्लै छोडेर म त अमेरिका नआउने भएँ ।”

                   – काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्