Logo

पल प्रकरणले सम्झाएको अतित

कुरा आजभन्दा दस बर्ष अगाडीको हो त्यो बेला म सत्र बर्ष कि थिँए त्यो समय म नाबालिक रहिछु बल्ल आज बुझेकी छु।तर शारीरिक बनावटले भने पुर्ण बयस्क नै थिए।भर्खरै एस एल सी दिएर बसेकी थिएँ। मेरो दाजु भारतको दिल्लीमा जागिर गर्नुहुन्थ्यो र भाउजू पनि उतै हुनुहुन्थ्यो र तेहि बेला दाइ भाउजू पनि आउनुभएको थियो। एस एल सी दिएकी र रिजल्ट नआउदा सम्म पढ्न नपर्ने भएको हुदा दाजु दिल्ली फर्कदा म पनि घुम्न जाने निधो गरें।

दाजुको एक महिनाको मात्र छुट्टी भएकोले जाने समय आईसकेको हुँदा म पनि दाजु भाउजू सँगै दिल्ली गएँ। नेपाल र भारतको सिमाना सुनौली हुँदै भारतीय सरकारी बसबाट दिल्ली लागेउ। बिहानको एघार बजे तिर सुनौली बाट चढेको भोलि पल्ट बिहान सात बजे मात्र दिल्ली पुर्यायो। त्यो बसबाट झरेपछी फेरि अर्को लोकल बसको यात्रा गरि कोठासम्म पुग्नुपर्ने रहेछ र त्यो लोकल बसको यात्रा पछि झन्डै दस बजे तिर दाइ भाउजुको कोठामा पुग्यौं ।

नेपालको एक बिकट जिल्ला गुल्मीको लुम्पेक भन्ने ठाउँमा जन्मेर हुर्केकी म दिल्लीको शहर देख्दा अचम्मित र हर्षित हुन्थे तर हिन्दी बोल्न र बुझ्न भने पटकै आउदैनथ्यो। आईतवार दाजुको छुट्टी हुने हुँदा त्यो दिन घुमाउन लानु हुन्थ्यो भने अन्य दिन भने भाउजू र म नजिक नजिक पार्क,मन्दिर र मार्केट हरु घुम्ने गर्थ्यौं । यसैगरि दिन हरु बितेको पतै भएन तीन महिना भएछ। अलि अलि हिन्दी बोल्न र बुझ्न थालेकी थिएँ घर फर्कने बेला भएछ दाजुले अब घर जाउ भन्नू भयो किनकी घर बुवा आमा मात्र हुनुहुन्थ्यो।
(महत्त्वपूर्ण कुरा अब शुरु हुन्छ।)

दिल्ली आउन त दाजु भाउजू सँग आए तर फर्कनको लागि भने एक्लै फर्कनुपर्ने थियो। दाजुले सोध्नुभयो बसपार्क बाट सुनौलीको बस चढाईदिन्छु जान सक्छेस नि ! मैले जवाफ् दिएँ अँ सक्छु।किनकी दाजुले तत्काल नै छुट्टी पाउनुहुदैन। जब भोलि नेपाल फर्कने भन्ने पक्का भयो भाउजूले सँगै बजार लानु भएको छ सामानहरु किन्दिनु भएको छ तर मेरो मनमा एउटै डर छ म सक्छु त भने तर कसरी घर पुगुँला भन्ने। साँझ सबै धेरै थोरै समान प्याक भयो खाना खायौ अनि दाजुले सम्झाउन थाल्नुभयो। म भोलि बिहानै लगेर बसमा बसाल्दिन्छु जति छिटो अगाडीको गाडीमा जान सकिन्छ उति छिटो बिहान सुनौली पुगिन्छ। तर गाडीमा बसेपछि कसैले दिएको कुनै चिज पनि नखानु। पानी पनि यहिबाट राखिदिन्छु खाना पनि भाउजुले बनाएर हाल्दिन्छे बाटोमा त्यही खानु। ट्वाईलेट लागेमा गाडी रोकेको बेला अरु पनि कोहि न कोहि नेपाली महिला हुन्छन्  गाडीमा सँगै जाउँ भनेर जानू तर खानेकुरा चाहिँ नेपाली होस या अरु कसैले दिएको नखानु। यस्तै यस्तै कुरा भए अनि सुतौँ भन्ने कुरा भो र सुत्न आफ्नो कोठामा गयौ। मनमा धेरै कुराहरु खेलिरहे निद्रा नै लागेन अबेरसम्म तर खोइ कती बेला निदाएछु।

बिहानको चार बजे भाउजूले उठ्न भन्नू भो र उठें। ब्रस गरि मुख धोएर कपडा लाउदा तयार हुँदा साँढे पाँच भैसकेको थियो म र मलाई छोड्न दाजु कोठा बाट एउटा अटोमा चढेर बसपार्क तिर लाग्यौं। झन्डै आधा घन्टामा बसपार्कको सुनौलीको गाडी लाग्ने ट्र्याक मा पुग्यौं । पुरै नेपाली दाजुभाइहरुको भिड अनि इन्डियन बस वालाहरु सबै नेपाली बोल्ने रहेछन आउनु आउनु एता आउनु सुनौलि जाने हो ? राम्रो अगाडिको सिट मिलाईदिहाल्छु यता आउनु दाइ ओइ बहिनी यता आउनुस आदि भन्दै चिच्याईरहेका हुँदा रहेछन।दाजुले भन्नूभो तँ यहि उभिनु म बसमा सिट हेरेर आउँछु अनि म त्यहीँ उभिईरहेँ। केही बेरपछि दाइ आउनुभयो , बस अब सात बजे जान्छ यस मा छिटो गए छिटो पुगिएला जान्छेस? महिला कोहि छैनन् बस भरिन लाएको छ अगाडिको ए को ६ र ७ मा एकजना मान्छे छ हेर्दा राम्रै भलाद्मी टाईपको छ मलाई छेउको शिशा तिरको सिट दिनु भनौ दियो भने त्यसैमा जानू भन्नू भो मैले पनि के भन्नू र डर लागेपनि हुन्छ भने अनि बस मा चढ्यौं । त्यो सिटमा पुगेर दाजु ले सोध्नुभयो सरको घर कहाँ हो नि ? उहाँले भन्नूभयो मेरो स्याङ्जा ! अनि सोध्नुभयो हजुरको दाईले भन्नूभयो गुल्मी। म जाने होइन बहिनिलाई पठाउने हो झ्याल तिरको सिट दिनु है ! उहाँले सजिलै भन्नूभयो हुन्छ नि बस्नु न बुटवल सम्म त सँगै हुने रहेछौं।

झट्ट हेर्दा २८-३० बर्ष को देखिने गहुँ गोरो ब्याक्ती काखमा सानो ब्याग च्यापेर बसेको त्यो मान्छेले छेउतिरको सिट दिनुभयो र म बसेँ झोला भने आफ्नै सिट मुनि दाजुले राखिदिनुभयो।अनि दाजुले भन्नूभयो सर बहिनिलाई बसबाट झरेर बोडर बाट राम्रो सङ बुटवल बसपार्क सम्म पुर्याईदिनु है त्यहाँबाट आफै जान सक्छे। उहाँले पनि भन्नू भो चिन्ता नगर्नु हजुरको बहिनीलाई म सुरक्षित बुटवल पुर्याउने छु। त्यतिकैमा बस हिंड्ने बेला भएछ पुर्याउन जाने सबैलाई बस बाट झर्न भन्यो अनि बिस्तारै बस बसपार्कबाट बाहिर निस्किन थाल्यो र दाजु पनि ल राम्रो सँगा जाउ है बाई भन्दै बसबाट ओर्लिनुभयो।

अब मेरो एकल यात्रा शुरु भयो, बस आफ्नो तीब्र गतिमा हिँड्न थाल्यो। पुरै बसभित्र म मात्र एक युवती थिएँ । मनमा अनेकौ कुराहरु खेलिरहेको थियोे, डरले मुटु कामिरहेको थियोे तर बोल्ने हिम्मत म मा थिएन । त्यतिकैमा उहाँले सोध्नुभयो कहिले आउनु भएको नि दिल्ली ? मैले भने, “तीन महिना भयो”।  फेरि उहाँले सोध्नु भयो पढाइ छैन र तिन तीन महिना बसेको ? मैले भने एस “एल सी दिएर आएकी”। उहाँले भन्नुभयो कस्तो भयो परिक्षा मैले भने राम्रै भयो। उहाँले सोधेको जवाफ दिन्थे बाँकी मैले केही सोध्न नै सकिन।बसायद म कम बोलेकोले होला उहाँले केही सोध्न नै छोड्नु भयो।

बस आफ्नै गति मा हिंडिरहेको थियो । म एक युवती अपरिचित ब्यक्ती सँग एउटै सिटमा बसेर यात्रा गर्दा असहज त शायद सबैलाई हुन्छ होला तर मलाई असहजका साथै किन किन डर लागिरहेको थियो। न त एक आपसमा बोलेका छौं नत निदाएका नै छौ । दुई बजिसकेको रहेछ बस खाना खाने होटल मा रोक्यो सबै जना खाना खान ओर्लिए अनि उहाँले भन्नूभयो आउ खाना खान जाउँत। तर मैले भने,”नाईँ म त नखाने”। फेरि उहाँले भन्नू भयो यहि ल्याईदिउ ? मैले भने, “नाईँ पर्दैन” । अनि उहाँले भन्नूभयो तिमी यहि बस्ने भए यो मेरो ब्याग हेर्नू है ? म खाना खाएर आउँछु। मैले हुन्छ भनें।मलाई हिजो दाजु ले भन्नूभएको थियो, कसैले दिएको नखानु अनि बसबाट एक्लै न ओर्लनु। म बस मै बसिरहेँ सबैजना खाना खाएर आए र आफ्नो आफ्नो सिट मा बसेपछि बस त्यहाँबाट हिँड्यो।

कहिँ बजार कहि गाउँ कहि जङ्गलको बाटो बस आफ्नै गतिमा अगाडी दौडिरहेको थियो। बिस्तारै रात पर्न थाल्यो अँध्यारो हुन थाल्यो झन झन डर लाग्न थाल्यो। म सिसा बन्द गरेर सिसा तिरै टाउको राखेर सल ओडेर बसिरहेकी थिएँ । घरी निदाउछु घरी डरले बिउझिहाल्छु तर उहाँ भने सुत्नुभएको पनि छैन। दुई जनाको सिटमा दुइजना बस्दा पनि एकाअर्कालाई छोईएला झै गरि उहाँ बस्नुभएको छ।वकति बेला झपक्क निदाएछु पत्तो भएन अल्लि हल्ला खल्लाको आवाजले म बिउझिएँ । अनि घडी हेरेको रातिको २ बजेको रहेछ।बसहरु लाईन लागेर उभिएका छन्। अँध्यारो छ गाडिको लाईटले केही उज्यालो छ कोहि चटपट चना भन्दै आएको छ कोहि काँक्रा लिएर आएको छ भने कोहि पानी अनि कोहि बदाम बेच्नेहरु गाडी भित्र आएका छन् । अनि बल्ल मैले उहाँ लाई सोधे के भयो र गाडी रोकेको? उहाँले भन्नुभयो, “अगाडी दुर्घटना भएको छ रे तेसैले बाटो बन्द छ रे” । मैले फेरि प्रश्न गरेँ,”कहिले खुल्छ नि?” उहाँले भन्नूभयो, “खोइ थाहा नै छैन दुर्घटना भएको गाडी हटाएपछि मात्र बाटो खुल्छ”। मैले फेरि प्रश्न गरे कति छ नि सुनौली पुग्न ? उहाँले भन्नु भयो २५० किलोमीटर। फेरि सोधें, “बाटो खुल्यो भने कति समय लाग्छ?” उहाँले भन्नूभयो,” बाटो खुल्यो भने ५ घन्टामा पुगिन्छ।”

तर बाटो खुलेन राती २ बजेबाट रोकिएको भोलिपल्ट दिउँसो १२ बजे मात्र बाटो खुल्यो। बिहानको ५-६ बजे सुनौली पुग्नु पर्ने दिउँसोको १२ बजे यो दुर्घटना भएको ठाउँबाट बस हिंड्यो। अब ५ घन्टामा पुगे पनि बेलुकाको ५ बज्ने भयो। रातिमा गुल्मी जाने गाडी पनि पाउँदिन बस्नुपरे कहाँ बस्ने आफ्नो कोहि छैन । चिन्ताले निकै पिरोल्न थाल्यो। त्यही बेला उहाँले सोध्नुभयो अब बेलुकी पुगिने भैयो पुग्नुपर्ने बिहान थियो बाटोमा जाम पर्यो के गर्ने कोहि छ तिम्रो आफन्त बुटवल सुनौली तिर ? मैले भने कोहि छैन। फेरि उहाँले भन्नूभयो केही छैन चिन्ता नगर म तिमिलाई सुरक्षित राख्नेछु। म केही बोल्न सकिन सुरक्षित राख्ने आफैंसँग राख्ने हो कि केही गर्ने होकि झन झन डर बढ्दै गयो। ५:३० साँझ बल्ल सुनौलीमा बस पुग्यो। झिम झिम साझ पर्न लागेको थियो। रिक्साहरुले चारैतिरबाट बसलाई घेरेका थिए सुनौली पारी नेपालसम्मको लागि पुर्याउन।

उहाँले भन्नुभयो सबैजना झर्न देउ अनि लास्टमा झरौंला तर म केही प्रतिक्रिया दिने अबस्थामा थिईन किनकी यो आजको रात के हुने हो भन्ने डरले। सबैजना झरिसकेपछि उहाँले भन्नूभयो ल जसु हिन!बस बाट झर्ने बित्तिकै रिक्सावालाहरु पछि लागेका थिए,यता आउनु यता भन्दै तर उहाँले जवाफ दिनुभयो हामिलाई चाहिंदैन। केही अगाडी पुगेर मात्र उहाँले एउटा रिक्सा बोलाउनुभयो पारी बसपार्क सम्म कति पैसा भनेर रिक्साले भन्यो दुई सय। उहाँले भन्नूभयो बीस रुपैया दिन्छु जाने। रिक्सा वाला भन्छ दाइ पचास दिनुहोस।फेरि उहाँले भन्नूभयो ल जाउँ रात पर्न लाग्यो केही छैन बीस हो तर पचास दिन्छु। हामी रिक्साबाट नेपाल प्रवेश गर्यौं र सुनौली बसपार्क झर्यौं । त्यहाँ झर्दा झन्डै साँढे छ भैसकेको थियो। होटलवालाहरु बास बस्न यता आउनु यता हाम्रोमा सस्तो छ भन्नेहरु धेरै आईरहेका थिए। निकै डरलाग्दो माहोल सबैले मलाई नै हेरिरहेका थिए।

तर उहाँले भन्नूभयो यहाँ बस्नु ठिक छैन यहाँको माहोल अर्कै हुन्छ।हामी अगाडी जानूपर्छ। फेरि अर्को रिक्सा बोलाउनुभयो र अगाडी जान कुनै ठाउँको नाम लिनुभयो त्यो नाम मैले भुलेँ। हामी फेरि रिक्सा चढेर धेरै अगाडी आयौं झन्डै एक घण्टा लाग्यो होला। त्यो ठाउँ झरेर उहाँले भन्नूभयो आउ जाउँ। म डरले निकै नाजुक भएकी थिएँ तर अरु बिकल्प थिएन। उहाँले एउटा होटलमा लैजानुभएको रहेछ। ठूलो होटल थियो। काउन्टरमा गएर उहाँले कोठा चाहियो दुइटा भनेर तर त्यहाँ कोठा रहेनछ। उहाँले चिनेको होटल रहेछ कि खोइ उहाँले त्यो होटलको फेरि अर्को मान्छेसँग निकै बेर कुरा गरेपछि एउटा कोठा मिलाउन सक्ने भन्नूभयो। म एउटा छेउमा बसेर सुनिरहेकी थिएँ। जब एउटा कोठा भएपनि हुन्छ भनेर उहाँले भनेको सुनेपछि त शरीरमा काँढा उम्रीन थाल्यो मुटु काम्न थाल्यो अनुहार रातो पिरो भयो। उहाँले काउन्टरमा नाम इन्ट्री गर्नुभयो खोइ के लेख्नु भयो थाहा भएन। अनि आउ जाउँ भन्नूभयो। म नबोली डराई डराई उहाँको पछि लागे।

कोठा पनि तेस्रो तलामा रहेछ । डरले सिंढी चड्ने तागत पनि सकिएको थियोे । बल्ल बल्ल माथी पुगेपछि उहाँले रुम खोलेर आउ भित्र भन्नूभयो म भित्र छिरें। कोठाभित्र एउटा ठूलो फराकिलो बेड थियो। साईडमा सोफा अनि कुर्ची टेवल भित्तामा टिभी। ठुला ठुला दुई ओटा झ्याल त्यसमा पर्दा लगाईएको थियो। विभिन्न किसिमका लाइट हरु थिए। म एउटा गाउँले परिवारको मान्छे कहिलै पनि होटलमा बसेको थिइन र देखेको पनि थिईन। घर छोडेर बाहिर बास बसेको भनेको मामाघर मात्र हो। त्यो होटलको रुम देख्दा अनौठो त लागेकै हो तर डरले सास रोकिन लागेको थियो। कोठा भित्रै ट्वाईलेट बाथरुम रहेछ त्यो देखाउदै उहाँले भन्नूभयो जाउ त्यहाँ पानी छ हात मुख धोएर फ्रेस हुनु म पनि फ्रेस हुन्छु र खाना भनेर आउँछु भनी उहाँ बाहिर निस्किनुभएको थियो। फेरि फर्केर सोध्नुभयो मासु खान्छौ कि नाई तर म बोल्न सकिन फेरि सोध्नु भयो भन तेहि अनुसारले अडर गर्नुपर्छ तर म बोल्नै सकिन।

उहाँ फेरि भित्र आउनु भयो र भन्नूभयो हेर डराउनु पर्दैन तिमी निश्चित हौ तिमी सेभ छौ र सेभ रहन्छौ। बिश्वास गर म प्रती र नडराउ। के खाने भन हिजो देखि केही खाएको छैनौ। मासु खान्छौ नि फेरि सोध्नुभयो अनि मैले भने,”अँ खान्छु”। त्यस पछि बस्दै गर भन्दै उहाँ बाहिर जानूभयो।;त्यसपछि म ट्वाईलेट गए हातमुख धोएर कपडा फेरेर एउटा कुर्सीमा बसिरहेकी थिएँ केही र सोचिरहेकी थिए एउटा बेड छ परपुरुषसँग कसरी सुत्ने ? म एउटि छोरी मान्छे जबर्जस्ती गरेपनि केही गर्न सक्दिन होला आजको रात के हुने होला भन्ने विभिन्न प्रश्नहरु आफैंमा खेलिरहेका थिए। हुने नहुने कुराहरुले मन भतभती पोलिरहेको थियो। त्यतिकैमा उहाँ आउनुभयो र भन्नूभयो खाना आउँदै छ। उहाँले आफ्नो ब्यागबाट ल्यापटप निकालेर चार्जमा लाउनुभयो त्यतिकैमा होटलको मान्छे होला पानी अनि खाना लिएर आयो र टेबुलमा राखेर गयो। अनि उहाँले भन्नू भयो आउ खाना खाउ। बिचमा टेबुल राखेर वारि पारी बसेर खान थाल्यौं। ठूलो चरेस को थालमा भात अनि कटौरामा दाल तरकारी मासु अनि चट्नी धेरै थरी थियो। भोक लागेको पनि थियो अनि डर को कारण खान मन पनि थिएन, जेनतेन खाना खाएँ।

उहाँले सोध्नुभयो अझै खाना थप्ने? मैले भने,”नाइँ पुग्यो”। म त गाउँले त्यो बेला के थाहा दुबै जनाको थाल उठाएर धुने ठाउँ खोजिरहेकी थिएँ। उहाँले भन्नूभयो,” यहि टेबुल राख माझ्नु पर्दैन उनिहरु नै लगेर साफ गर्छन्”।त्यसपछि हात मात्र धोएर आएँ र फेरि कुर्सीमै बसें।

त्यति बेलासम्म झन्डै रातिको १० बजिसकेको थियो। उहाँ सोफामा बस्नुभयो र भन्नूभयो जाउ बेडमा गएर सुत। म एकछिन काम गर्छु र यहि सुत्छु। त्यति भन्दा केही राहत भएजस्तो त भयो तर पुरुष मान्छे हो के भर हुन्छ र ? बेडमा जाने हिम्मत नै भएन र मैले भने हजुर सुत्नु बेडमा म यहिं बस्छु। तर उहाँ मान्नु भएन,” तिमी सुत डराउनु पर्दैन बिहान पाँच बजे नै उठ्नुपर्छ बिहानैको गाडी भेट्नु पर्दछ अनि मात्र तिमी समय मै घर पुग्छौ म तिमिलाई गाडी चडाएर मात्र जान्छु”।

त्यति भन्दै उहाँले ल्यापटपमा एयरफोन जोडेर कानमा लगाएर के गर्न थाल्नु भयो थाहा भएन। म कुर्सीमै थिएँफे। फेरि भन्नूभयो,” सुत न बेडमा किन अफ्ट्यारो मानेकी ?” सबै पुरुष खराब हुँदैनन्।तिमी ढुक्क भएर सुत। अनि म बेडमा गएर सुतें तर निद्रा त किन लाग्थ्यो ? कतिबेला यहि बेडमा आउने हो कि केही गर्ने होकि भन्ने डर थियो। घरीघरी चियाएर हेरिरहन्थे तर उहाँ ल्यापटप मै ब्यस्त हुनुहुन्थ्यो। त्यतिकैमा बसको यात्रा अनि अनिंदोको कारण होला कतिबेला भुसुक्कै निदाएछु। कतिबेला फेरि झसङ्ग झस्किएर बिउझेँ ज्यान थरथर कामिरहयो र यसो हेरेको उहाँ ल्यापटप काखमै लिएर एयरफोन कानमा लएगाएर सोफामै मस्त निदाउनुभएको रहेछ। देख्दा निकै दया लाग्ने गरि निदाउनुभएको थियो तर दया लागेर के गर्नु न कुनै कपडा ओढाईदिने हिम्मत थियो न केही गर्ने।अनि मनमा झन कुराहरु खेल्न थाले कस्तो सोझो मान्छे कस्तो इमान्दार मान्छे भन्ने पनि लाग्यो तर डर केही कम भएपनि उहाँको सुताइको अवस्था देख्दा निकै दयनीय थियो। कुराहरु मनमा खेलाउँदा खेलाउँदै फेरि निदाएछु। ढोका खुलेको आवाजले झसङ्ग  भएँ मै माथी कोहि आयो कि जस्तो लाग्यो तर आँखा खोलेर हेर्दा उहाँ ट्वाईलेट जान ढोका खोल्नुभएको रहेछ।

उहाँ ट्वाईलेटबाट आएर मन्जन र ब्रस निकाल्दै दात माझ्न थाल्नुभयो र सोध्नुभयो ब्रस छ? मैले भने छैन। उहाँले ब्यागबाट नयाँ ब्रस निकालेर दिनुभयो र भन्नूभयो,” यो नयाँ हो ल दाँत माझ फ्रेस हौ अब जानू पर्छ”। मैले ब्रस गरें, मुख धोएँ,मेकअप त के गर्नु थियो र गाउँले केटि त्यही माथी डरैडरमा बिताएको पल। दुबैजना फ्रेस भएपछि पाँच बजेतिर जाउँ भन्नूभयो र तल झर्यौं। काउन्टरमा उहाँले पैसा तिर्नुभयो अनि तेहि होट्लमा भन्नू भएछ क्यारे होटलको गाडीले हामिलाइ बुटवल बसपार्क सम्म छोडिदियो।

बसपार्क ओर्लेपछि उहाँले त्यो ड्राइभरलाई एक सय रुपैया दिनुभयो उसले नाईँ पर्दैन भन्दै थियो उहाँले जबर्जस्ती दिनुभयो। त्यसपछी सिधै उहाँले गुल्मीको बस लाग्ने ठाउँमा लानुभयो अनि काउन्टरमा गएर टिकट काट्नको लागि कहाँ हो तिमी झर्ने भन्नूभयो । मैले भने,” म तम्घास”। उहाँले तम्घासको टिकट माग्दै भन्नूभयो,” अगाडि  एउटा टिकट दिनु तम्घासको”।अनि काउटर वालाले ड्राइभर साईडको चार नम्बरको टिकट दिनुभयो। उहाँले टिकट लिएर आउ बसमा भन्नूभयो अनि बसमा लगेर सिट देखाउँदै यो सिट हो अनि यो टिकट यहाँ बस।

म सिटमा बसे अनि लामो सास फेरे सायद मलाई लाग्यो अब कुनै खतराबाट बचे भनेर होला। त्यसपछि उहाँले भन्नूभयो अब राम्रो सँग जानु ल गाडीमा त कोहि न कोहि चिनेको पनि भेटिनुहोला सक्छौ नि जान? मैले भने अँ सक्छु। अनि उहाँले भन्नूभयो,” ल म गएँ है राम्रोसँग जानू” भन्दै गाडीबाट झर्नु भयो। मैले खै किन गाडीको सिसा बाट उहाँ देखिने बेलासम्म हेरिरहेँ। उहाँ देखिन छोड्नुभयो अनि खोइ किन अनायसमै आँसु झरे पत्तै भएनछ।

आज पल प्रकरणको चर्चा चलिरहंदा दश बर्षपछि यो यात्राको बारेमा सम्झना आयो र सम्झेंजति लेखेँ। म एक जवान नाबालिका थिएँ।उहाँले चाहेको भए के मलाई केही गर्न सक्नु हुन्थेन होला? एक सच्चा र इमानदार ब्यक्ती भए एउटै कोठामा रात काट्दा पनि त केही नहुँदो रहेछ। एउटै होटलमा छुट्टाछुट्टै कोठा बसेका पल र नाबालिका लाई कसरी पलले बलात्कार गरे होला? के पल म सङै यात्रा गर्ने उहाँ जस्तै ब्यक्ती हुन सक्दैनन् ? मैले त्यो बेला उहाँको नाम समेत सोध्न सकिन। के नाम हो थाहा छैन र देखे भनेपनि चिन्दिन होला।

तर आज म एक परिपक्व महिला हुँ। मेरो बिवाह भैसकेको छ र दुई सन्तानकि आमा समेत बनिसकेकि छु। यो पल घटनाको बारेमा सुन्दा मेरो पल एक्कसी याद आयो आजसम्म यो पलको कहिलै याद आएको थिएन । उहाँको नाम के होला ? उहाँ कहाँ हुनुहुन्छ होला?शायद यो लेख देख्नुभयो र पढ्नुभयो भने उहाँलाई पक्कै याद आउला। आजसम्म उहाँले पनि सम्झिनु भएको छ कि बिर्सिनुभयो होला? बिर्सिएको भएपनि पक्कै याद हुनेछ। यस्ता महान पुरुषलाई उच्च सम्मान गर्न चाहन्छु र उहाँलाई एकपटक भेट्न चाहन्छु।यो लेख देख्नु र पढ्नुभयो भने पक्कै पनि मलाई सम्पर्क गर्नुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सबै पुरुष खराब हुँदैनन् र सबै महिलापनि खराब हुँदैनन्। सच्चा इमानदार महिला र पुरुष प्रती उच्च सम्मान।

उहि,दश बर्ष पहिलेकी

पूर्णिमा थापा,गुल्मी

लेखक : मेघ नाथ खनाल✍️

प्रतिक्रिया दिनुहोस्