Logo

साँच्चै बिकास गर्ने भए कर्णाली बनाउनु

ट्रेन कुदने तिम्रो ठाउँ खच्चर कुदछन यहाँ
धन हुने राजधानि गए हामी जानु कहाँ
अप्ठेरो छ, बिकट छ, साथै सुन्दर पनि
कुराहरु मात्रै भयो बिकास गर्ने भनी

 

पिज्जा बर्गर खान्छौ तिमी घरमै अर्डर गरी
यहाँ नुनको लागि लडनु पर्छ जिउनु कसो गरी
तिमी हाँसे समाचार बन्छ भाइरल हुन्छ त्यहाँ
गरीबका दु:ख पिडा कस्ले देख्छ यहाँ

 

अस्पातलको अभाव यहाँ जिउनु कसो गरी
आशै आशमा जिउनु पर्ने रैछ जीवन भरी
बन्जी हान्ने पुल बनाए यही देशमा कोही
तुइन पनि मर्मत छैन कती बस्नु रोइ

 

भिउ टावर बनेका छन देश भरी अहिले
कर्णालीको दु:ख देख्ने टावर बन्ने कहिले
जीवन बुझ्न भए पनि एक पटक आउनु
साँच्चै बिकास गर्ने भए कर्णाली बनाउनु

 

न बाटोले घर छुन्छ न बत्ती छ घरमा
यो जुनि त यसै बित्यो बिकास देख्ने रहरमा
एक बोरा चामल दिन्छन सहयोग गर्छौ भनी
यही देशको नागरिक होइन र म पनि

✍️ भुपेन्द्र बुढाथोकी

प्रतिक्रिया दिनुहोस्