Logo

हिमालको आवाज़-३०

   – साहित्यकार डा.दामोदर पुडासैनी किशोर

म आलस्यको खँडेरी खात बिरूध्द उभिएको छु

दिउसै बनाइएको रात बिरूध्द उभिएको छु

देशलाई च्यूरा मुछेर चपाइरहेछन्

केही मान्छेहरूले

जसले जे गरेपनि

चुपचाप सहने मेरी आमा जस्तो

युगौयुगदेखि उठेको

देशको नीलडाम बिरूध्द उभिएको छु

 

कसैको लालसाको घुरेन बालेर ताप्नु छैन मलाई

कसैको र्याल चाटेर

आश्वासनका खोस्टा पहिरनु पनि छैन मलाई

हत्केलामा उठेका ठेलाबाट झरेका

नीलो जलधारामा नुहाउनेहरूलाई

अँगालोमा बेर्छु म

म सपनानै सपनाको पुन्ज हुँ

म पिठ्यौमा प्रश्नका भारी बोकेर चढने

हरेक आरोहीको स्वागत गर्छु

 

साहसका उज्याला सपनाहरू छन् छातिभित्र

हिँडने बाटाहरू पनि असँख्य छन् मेरा मन र तनभित्र

म देश कफनमा च्यानाकुटी झ्याईँ बजेर हिडिरहेको हेर्न सक्दिन

आधाबाटोबाटै कुनै आरोहीले सपना तुहाएको पनि हेर्न सक्दिन

म ठिँग उभिएको छु

मेरो ढाडमा फरक बीउका अक्षर लेख

 

कुनै सपनावती आमाको मजेत्रोमा पोकोपारिराखेको तिर्सना फुकाऊ

म हरेक झरीले तिम्रो अनुहार भिजेको हेर्न चाहन्छु

हरेक हिमपातमा तिमी उक्लेको हेर्न चाहन्छु

मैले पहिरेको टोपिमा बुट्टा छन् तिम्रो अनुहारका

म हरेक प्रहरमा तिम्रो स्युँदोको गीत सुन्न चाहन्छु

देश मुठ्ठीमा राख्नेहरू

हत्केलामा खैनी माडछन्

र रागको झुम्रो अरूतिर जलाएर

आफू अँध्यारोमा सिँगमाँगभित्रको घ्यू चोर्छन्

मैले तिम्रोलागि अक्षरका उरूँगहरू ठड्याएकोछु

म तिम्रा अक्षरहरूले आविश्कार खोलेको हेर्न चाहन्छु

 

सिकुवामा केहीथान रिँगटोनहरू बजिरहेछन्

ती रिँगटोनहरूमा

तिम्रो न्यानु र तिम्रै भोकहरू ब्युँझियुन भन्ने चाहन्छु

 

तिम्रै मायाको ज्वालामुखी जल्दाजल्दै

अचेल उभिएकोछु हिमाल

बनेर आगो खोज्नेहरूलाई स्वागत छ हिमालमा

 

-२०७६ आश्विन ४ गते सोलुखुम्बु,सगरमाथा

नोट – आदरणीय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि डा.दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि डा.दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो । हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’ नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र डा.दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौँ । अझ खुशीको कुरा त डा .दामोदर पुडासैनी किशोर लेखापरीक्षण विषयमा विध्यावारिधि गर्ने नेपालको पहिलो विद्दान हुनुहुन्छ । आर्थिक व्यवस्थापन ,जीवनदर्शन र भ्रमणबाट खारिएका उहाँका कविताहरू हामीले निरन्तर प्रकाशित गरिरहेका छौँ । हजुरहरू जस्ता आदरणीय पाठकहरूले साह्रै मन पराइदिनुभएकोले हामी अत्यन्त उत्साहित छौँ । 

                                                                          –सम्पादक

प्रतिक्रिया दिनुहोस्