Logo

नेपालको पहिलो भू–उपग्रह ‘नेपालीस्याट –१’ अन्तरिक्षमा प्रक्षेपण

तस्वीर नासा

काठमाण्डौं – अन्तरिक्षमा नेपालकाे पहिलो स्याटेलाइट (भू-उपग्रह) प्रक्षेपण गरिएको छ ।’ नेपालीस्याट-१’ नाम दिइएको उक्त भू–उपग्रह अमेरिको भर्जिनियास्थित नासाको वालोप्स प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो।

नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टले जनाएको छ ।

उक्त स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएका थिए ।

नास्टका प्राविधिक अधिकृत रहेका श्रेष्ठले इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्केले स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका छन्।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो। अन्तरिक्षमा प्रक्षेपण गरीएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको बीबीसीले जनाएकाे छ।

नेपालसँगै जापान र श्रीलङ्काका भू-उपग्रह पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको छ । न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक मास्केका अनुसार ‘नेपालीस्याट-१’ करिब एक किलो तौलको छ।

उनले नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भएको तर आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती रहेको बताए ।

उक्त भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ । त्यसपछि अन्तरिक्षमा घुम्न थाल्ने नाष्टले जनाएको छ। भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।

‘नेपालीस्याट-१’ बाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिको फाइदा लिन सक्छ। जसको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ।

यसले दैनिकरुपमा देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ। ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन्।

उक्त भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहने नास्टका प्रविधि विभागका प्रमुख प्रा‍. डा.रविन्द्र ढकालले बताए । लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ।

यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ। त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्