Logo

भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्नुपर्ने पक्षमा उभिएका नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि त्यसले तीन दशकभन्दा पुरानो उक्त समस्यामा नयाँ प्रश्न उत्पन्न भएको भन्दै केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै उच्चपदस्थ राजनीतिक र प्रशासनमा रहेका व्यक्तिहरूको आडमा सङ्गठित गिरोहले चलाएको भनिएको अभियानको अनुसन्धानको सिलसिलामा रिजाल बिहीवार पक्राउ परेका हुन्।

रिजाललाई हिरासतमा लिन दुई दिनका लागि म्याद थप गरिएको काठमाण्डू प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

सन् १९८० को दशकमा भुटानी राजाको सल्लाहकार परिषद्का सदस्य रहेका उनी भुटानले ‘एक देश एक भाषा’को नीति अँगालेपछि झन्डै एक लाख नेपालीभाषी भुटानीसँगै भारतको बाटो भएर नेपाल निर्वासनमा आएका थिए।

सन् १९९३ देखि करिब एक दशक भुटानको जेलमा थुनिएका राजबन्दी रिजाललाई नेपालमा ठूलो हलचल मच्चाइरहेको शरणार्थी प्रकरणसँग जोडेर गिरफ्तारी गरिएपछि कैयौँ शरणार्थीका अगुवा तथा अधिकारकर्मीहरूले आश्चर्य प्रकट गरिरहेका छन्।

तर अहिलेसम्म प्रहरीले रिजाल यो प्रकरणमा कसरी जोडिए भन्नेबारे औपचारिक रूपमा केही पनि बताएको छैन।
सञ्चार माध्यमहरूमा आएका विवरणमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गर्न प्रत्यक्ष रूपमा संलग्न रहेको भनिएका व्यक्तिको बयान र लेनदेनका टिपोटका आधारमा “अनुसन्धानका लागि पक्राउ” गरिएको बताइएको छ।

अहिले पूर्वी नेपालका दुईवटा शरणार्थी शिविरमा झन्डै ६,५०० भुटानी शरणार्थी छन्। द नेदरल्यान्ड्सको हेगमा बसेर शरणार्थी अधिकारको पक्षमा पैरवी गर्दै आएका अधिकारवादी राम कार्कीले रिजालको गिरफ्तारीले दुःख लागेको बताएका छन् ।

उनले भने, “उहाँ एक जना सर्वमान्य, संसार चिनेको नेता हुनुहुन्छ। यत्रो काण्डमा मुछिएको आशङ्कासहित पक्राउ पर्नु दुर्भाग्य हो।”
नेपाल सरकारले दोषीलाई “खुट्टा नकमाई कारबाही गर्नुपर्ने” भन्दै उनले “कुनै पनि निहुँमा निर्दोषलाई कारबाही गर्न नमिल्ने” बताएका छन् ।

एक भुटानी नेताले सम्पूर्ण प्रकरणको सत्यतथ्य बाहिर ल्याइनुपर्ने भन्दै निष्पक्ष अनुसन्धानमा जोड दिएका छन्।भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल भन्छन्, “उहाँको नाम मुछिनु बडा दुःखद हो। दोषै मात्र लगाएको हो भने निष्पक्ष छानबिन हुनुपर्छ। साँच्चिकै दोषी देखिएको अवस्था हो भने कानुन अनुसार सजाय भोग्नुपर्छ।” रिजाललाई भुटानी शरणार्थीहरूका सर्वोच्च नेता मानिन्छ।

प्रतिक्रिया दिनुहोस्