Logo

सरकारी वकिलले मेटाए सीआइबीको प्रतिवेदन, सुन पगाल्ने केमिकलका कारोबारीलाई उन्मुक्ति 

काठमाडौं –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा चलाउन सिफारिस गरेका एकजना फरार चिनियाँ नागरिकलाई सरकारी वकिल कार्यालयले मुद्दा नै नचलाई उन्मुक्ति दिएको तथ्य फेला परेको छ ।

सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएका ती चिनियाँ अभियुक्त अपराधीहरुको समूहले खरिद गरेको सुन गाल्ने केमिकलका कारोबारी थिए । सीआइबीले प्रतिवादी बनाएका चिनियाँ राहदानी बाहक लुओरोङ गोङ्बुलाई सरकारी वकिल कार्यालयले प्रतिवादीको सूचीबाट हटाएर उन्मुक्ति दिएको हो ।

सीआइबीका अनुसार प्रतिवादी दावा छिरिङ र किशोर बस्नेत पक्राउ परेपछि गोङ्बु फरार भएका थिए । सुन पगाल्न तथा रिफाइन गर्नका लागि ल्याइएको रसाइन ठमेल स्थित होटल भियनामा राखेर चाइनिज नागरिकलाई उपलब्ध गराएको उनीमाथि आरोप छ ।

प्रहरीले उक्त केमिकल टोखास्थित सुन गाल्न प्रयोग भएको स्थानबाट बरामद गरेको थियो । गोङ्बुले उक्त केमिकल दावा छिरिङ र किशोर बस्नेतलाई २०/२० हजारमा दिएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सीआइबीले भदौ २५ गते सरकारी वकिलको कार्यालयमा बुझाएको अभियोगपत्रमा गोङ्बुलाई दोषी देखाउँदै भनिएको थियो,‘अबैध सुन पैठारी गर्ने कार्यमा निज प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आयो ।’

यही अभियोगका आधारमा सीआइबीले गोङबुलाई २९औं नम्बरको प्रतिवादी बनाएर सरकारी वकिललाई मिसिल बुझाएको थियो । तर, सीआईबीको प्रतिवेदन काटकुट पारेर भदौ ३१ गते सरकारी वकिलको कार्यालयले २९ औं नम्बरका प्रतिवादी गोङ्बुको नाम हटायो।

जिल्ला अदालतमा आइतबार दायर गरिएको मुद्दामा ९ जना विदेशी सहित २० नेपाली छन् । चिनियाँ, भारतीय र बेल्जियम नागरिकका साथमा नेपालीहरु हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली कुमार ढकाल, सरोज श्रेष्ठ र रुक्मिना सुब्बालाई प्रतिवादी बनाइएको छ ।

बारा कलैयाका भोला साह सोनार, बर्दियाका जीवन चलाउने र रोल्पाकी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ । तीनैजना फरारको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्