Logo

रास्वपा सभापति रवि लामिछानेले शंकास्पद अडियाे प्रकरणबारे अनुसन्धान गर्न सघाउने

काठमाण्डौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान गर्न प्रहरी, प्रशासन र अख्तियार दुरूपयाेग अनुसन्धान आयोगलाई सघाउने बताएका छन् ।

बाराकाे निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेकाे उपनिर्वाचनका सिलसिलामा महागढीमाई नगरपालिकाकाे गढीमाई धार्मिक स्थलमा आयाेजित चुनावी सभालाई आइतबार सम्बाेधन गर्दै यस्ताे बताएका हुन् ।

७२ घण्टाभित्र पार्टीबाट अनुसन्धान गरेर कारबाही गर्ने र थप अनुसन्धानका लागि सरकारी निकायमा आफैंले सही गरेर उजुरी दिई अनुसन्धान गर्न सघाउने उनले बताए ।

देशमा ७२ वर्षदेखि भएकाे भ्रष्टाचारसित आफूलाई मतलब नभएको तर आफ्नो पार्टीकाे सांसदले गरेकाे गल्तीबारे कारबाही गर्ने उनको भनाइ थियो ।

‘कारबाही गरिनँ भने मलाई यही गढीमाईमा बली दिनुहाेला,’ उनले भनेका थिए । सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गर्दै स्पष्टीकरण सोधिसकेको छ । सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसित २ कराेड माग गरेकाे अडियाे आइतबार सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठले भने सभापति लामिछानेलाई बुझाउनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको सुनिन्छ । त्यसवापत उनले मन्त्री बनेपछि प्रसाईंको काम गरिदिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्