कविता – हिमालको आवाज़-६
-साहित्यकार ,दामोदर पुडासैनी किशोर
सकिनसकि भारी बोकेर
उकालो चढिरहेका
याक र झोक्पेहरूले भने-
मान्छेहरू धूवाँमा जीवन
खोजिरहेछन्
हामीहरू कुहिरो र
बादलमा
जीवन खोजिरहिरहेछौँ
आखिर, खोज्दै खोज्दै
सकिने त हो रहेछ नि
जीवन
लुँगदरमा जस्तै
लेख्दै ,मेटिँदै,
साइनबोर्डमा टाँगिएको छ
जीवन
डुङ्गामा लेखिएका
मानेका अक्षरहरू
घोटिँदैछन् जीवनसँगै
जीवन त बाटो पो रहेछ
जता हिंडेपनि हुने
अन्त्य, कतै नभेटिने
छानामाथि चिम्नीबाट
उडिरहेको सेतो धुवाँ
र छानामाथिको हिउँ
पग्लेर हावासँगै
बहिरहेको बाफको
जीवन खोज्ने होडबाजी
चलिरहेछ
जीवन हीम चट्टानजस्तै
आधा पग्लने चौथाइ ,
जम्ने गरिरहेछ
कुहिरोभित्र बर्षात ओढेर
एक्लै गीत छरिरहेको
देवदार वृक्ष
र हिउँ खोस्रेर पिरती
लेख्ने स्काइलार्क
दुवै मेरो कुममा
छोर्तेन बनाउने अभियानमा छन्
त्यसमा तिम्रो प्रेम दानको
हिस्साको सदुपयोग
म लेखा परीक्षण
गरिरहेछु
दिउँसभर घाम कैद छ
कुहिरोबाट
जीवनभर मलाई कैद
गर्न खोज्नेहरू
बिलाइरहेछन् बादलका
भुल्काहरूसँगै
म एक्लै , तिमी र यो
संसारलाई
हत्केलाका सिमानाभित्र
बर्षाइरहेछु
साना नानीहरूले छोपेका
हिममलेवाहरू
र मैले ढुङ्गे भित्तामा
लेखेको मान्छेको
ढुकढुकी
सङ्कटमा छन् दुवै
तिमीले मसँग गरेका
बाचापनि
किन पग्लिरहेछन्
हिमनदीमा लेखेका
अक्षरहरू जस्तै
-२०७६ भाद्र २८ गते शनिबार याक होटल ,लुक्ला,सोलुखुम्बु
नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।
हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’
नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।
–सम्पादक