Logo

कविता –शहीद्का सपना

   – रविन न्यौपाने
भोको पेटले दाम्रीएको बृद्ध कायालाइ
कुल्चँदै सडक पेटिमा गुन्जिरहेको छ
तुमुल ध्वनि ..
गणतन्त्र जिन्दाबाद !
बलात्कृतका सुस्केरा प्रहरी कार्यालयकै
गेटमा दुर्घटना भैरहँदा
संसद भवन बानेश्वरमा घन्किरहेछ ..
दुई तिहाइ जिन्दाबाद !
सिमानामा बैरीका बुटहरूले
आमाका छातीहरूमा परेड खेलिरहँदा
सर्कसको मञ्च जस्तो लाग्ने चटकेहरुको सभामा
राष्ट्रिय गान घन्किरहेको छ..
सार्वभौम भई फैलिएका मेची महाकाली …
तेत्रा मान्छे मरे जनताले के पाए ?
दिनभरि जोतेर आएका
माइला दाइ नेतालाई सोध्छन् ,
ङिच्च दाँत देखाउँदै नेता भन्छ , गणतन्त्र
माइला दाइको छाती चसक्क दुख्छ ,
दिनभरिको थकानले ,
तेत्रा मानिस बेपत्ता भए
जनताले के पाए ?
कुर्लुन्तै  घाँसको भारी बोकेर आएकी माइली भाउजू
नेतालाई सोध्छिन्
व्यवस्था विरोधी जस्तो लाग्ने कुटिल हाँसोमा
नेता जवाफ दिन्छ , सङ्घीयता …
माइली भाउजूको तल्लो पेटमा असैह्य पिडा हुन्छ ,
सुत्केरीताका भोगेको अभावले निम्त्याएको दिर्घरोग ,
नेता घेरिएको छ …..
प्रश्नहरूको तिरले विक्षिप्त छ ,
छर्रा लागेका योद्धा सोधिरहेका छन्
बिधुवा , टुहुरा सोधिरहेका छन् ,
के पायौ ? के पायौ ?
नेता क्रमशः जवाफ दिइरहेछ …
समावेशी , समानता , स्वतन्त्रता …
फेरी अध्कल्चेको छर्रा दुख्यो योद्धाको ,
सिउँदोको सिन्दूर दुख्यो बिधुवाको ,
टुहुराको न्यानो वात्सल्य दुख्यो …
फेरी पनि नेता ङिच्च दाँत देखाइरह्यो ….(प्रकाशित मिति, २०७७ साल असोज २४ गते शनिवार)
प्रतिक्रिया दिनुहोस्