Logo

कविता – सुनिरहन्छौ हामीहरू

           – रविन न्यौपाने
फूलबारीमा साँढे छोडेर
फुलको संरक्षण विषयक
गोष्ठी गर्छन् तिनीहरू …
आँगनमा खाल्डो खनेर
मंसिरमा खलो बनाउने
सपनाको खेती गर्छन् तिनीहरू …
सुनिरहन्छौ हामीहरू…..
पत्याइरहन्छौ हामीहरू…..
खेतबारीमा अनाजका
बीजहरू होइन,
बारुदका बीजहरू रोप्छन्..
जङ्गी हातहरूले
निरीह परेवा उडाउ छन् ,
घाँटीमा मृत्युपत्र बाँधेर,
अनि ताली बजाउँछन्
शान्तिको नाममा…
सुनिरहन्छौ हामीहरू..
पत्याइरहन्छौ हामीहरू ..
औषधी कारखानाहरू बन्द गरेर
धतुरो उत्पादन गर्छन् तिनीहरू..
चिनी कारखानाहरू
चल्न नसकेको भन्दै
रक्सी  कारखाना खोल्छन् ,
आर्थिक विकासको नयाँ
मोडेल भनिरहँदा..
सुनिरहन्छौ हामीहरू..
पत्याइरहन्छौ हामीहरू ..
दैनिक हजारौँ नागरिकहरू
विदेशमा निर्यात गर्छन्,
दैनिक दसौँ मुर्दा
बाकसमा आयात गर्छन् ..
अनि कक्टेल पार्टीमा
हरेक महिना
विप्रेषण अर्थतन्त्रको फाइदाबारे
बहस हुन्छ..
सुनिरहन्छौ हामीहरू..
पत्याइरहन्छौ हामीहरू..
( गङ्गा जमुना ६ धादिङ्ग)
प्रकाशित मिति- २०७७ साल असोज १० गते, शनिवार
प्रतिक्रिया दिनुहोस्