Logo

कविता – हिमालको आवाज -२

-साहित्यकार दामोदर पुडासैनी किशोर

किन कम्पनमा छन्

लुँगदारहरू

किन अनवरत

घुमिरहन्छन् मानेहरू

संसार नै चलायमान

बनिरहेको बेला

किन क्षण क्षणमा

बदलिँदै छन् पौवाका

रूप र रंगहरु

फोसिलहरू निल्न

खोज्दैछन् समयलाई

समय आफैँ ब्यूँझन

खोज्दैछ प्रयोगशालामा

मेरो हिमाल भने

कसैकी प्रेमिका जस्तो

हेरे ,धेरैले हेरे

एउटै अर्थमा भने कसैले

बुझ्न सकेको छैन

संसारको सबै थकाई

मेट्ने तागत छ मेरो

हिमालसँग

संसारको सबै जलन

मेट्ने तागत छ मेरो

हिमालसँग

मेरो हिमालले मात्र

मेटाउन सक्छ संसारका

हरेक मान्छेका

भोकहरूलाई

संसारका सबै

सुन्दरताको निचोड छ

मेरो हिमालसँग

हिमाल मात्र होइन

हिम कुहिरो मात्र बन्न

सक्छौ भने तिमी

संसारभर खुशीनै

खुशीको तरङ्गमा

डाँडा र मैदान जता मनलाग्छ

फूरफूर फुर्किएर

समयसँगै हिँड्नुको

विकल्प छैन

संसार सुकिल्याउनको लागि

मेरो हिमाल

निरन्तर श्वेत

दीपावलीमा सजिइरहेछ

२०७६ भाद्र २४ गते मङ्गलवार नाम्चेबजार ,सोलुखुम्बु

(प्रकाशित मिति, २०७७ साल असोज १० गते शनिवार )

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ ।यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।
                  -सम्पादक

प्रतिक्रिया दिनुहोस्