गजल
-लेखनाथ खनाल “अंकुर”
ढुङ्गाको मूर्ति पूजी धार्मिक हुन खोज्छु म
गङ्गामा बगेको पानीले पाप धुन खोज्छु म
अस्तव्यस्त छु आफैँ,भ्याउँदिन स्याहार गर्न
आश्रममा बा-आमाको पाउ छुन खोज्छु म
आफैँ दुखी छु, नाना थरी व्यथा छन् मनमा
तैपनि ती दु:खी मान्छे देखेर रुन खोज्छु म
यथार्थ लुकाएर हिँडेको छु यता स्वाङ पार्दै
पित्तलमा जलप लगाएको सुन खोज्छु म
मेरो स्वार्थमा केही हेर्दिन दायाँबायाँ अहँ
जसलाई घात गर्छु उसै सँग गुन खोज्छु म
कता कता अल्मल छु साँघुरो बन्द कोठामा
अनि रातमा टल्टल चम्किने जून खोज्छु म
हज्जारौं पशुको बलि चढाएर मन्दिरमा
अन्नमा कहीँ भेट्छु कि भनी घुन खोज्छु म !!
अर्जुनचौपारी -६ दरौं, स्याङ्जा !