कविता – तक्दिर
– लक्ष्मण चौलागाईं विद्रोही
एउटा कार्टुनमा चौरको छेउ लगेर मलाई जननीले फालेका थिए रे
दादा दिदिहरु खेल्न आउँदा मलाई देख्नुभएर रे
म आज एउटा आश्रमलाई न्यानो काख मान्न विवश भएँ
म फालिएकी हुँ रे
मेरो के दोष थियो र जन्माउनुभयो र फाल्दिनुभो झाडीमा मेरी मुमा
मेरो कुनै गल्ती थियो र
मेरो केही दोष थियो र
जन्म दिएर यो संसार देखाएको केही दिनमा झाडीमा फाल्दिने तपाई मुमा
म तपाईँको काखबाट ओझेल पर्न परे पनि लेखिएको थियो मेरो तक्दिरमा
असहाय आश्रमलाई आफ्नो पुनर्जन्मको घर बनाउन विवश हुनुपर्नेछ
र त आज सोही भयो
थुप्रै आमाहरू म जस्ता कति छोरीहरूलाई
झाडीमा फाल्दा होउन्
अनि कमिलाले कोमल मासु लुछ्दो हो
कतिका अस्थिपञ्जर भेटिँदो हो
कतिका कोमल हड्डीहरू भेटिँदो हो
हामी निर्दोष नवजात शिशुहरूको
तर मलाई यो सुन्दर धर्तीमा हेर्ने कोही रहेछन्
तिनै भए अभिभारा बोक्ने मेरो मातृत्वको
धन्य आमा तिमिले मलाई फाल्यौ
मार्नलाई फाल्यौ तर म मर्नुपरेन
मरुभूमि जस्तो त्यो मनले
मलाई कुन दिन सेरेर मार्थ्यो
कुन दिन घाँटी निचोरेर मार्थ्यो
तर भ्रूणमा नै हत्या गर्न नसकेर
जन्म दिएर झाडीमा फाल्यौ
तर अर्को भाइ र बहिनीलाई त्यसो नगर्नु है
हो म फालिएकी थिएँ अरे
म झाडीमा फेला परेकी थिएँ अरे
मेरो तक्दिरमा लेखिएको रहेनछ
आमाको काख
अनि म अहिले बाल आश्रममा
कटाउदैछु रात
कटाउदैछु रात !!
प्रकाशित मिति : २०७७ साल साउन १५ गते, बिहिवार