Logo

कविता – एउटा नारा वाल पेन्टिङ मुनि थप्नु छ

      – लक्ष्मण चौलागाईँ विद्रोही

जब ती सबै खोँचहरू काटेर

धेरै दिन पैदल हिँडेर गुचुमुच्च बस्तीतिर

सन्ध्याकलाले वास माग्न संकेत दिन्छ

हिमालको चुचुरोमा सुन झैँ टल्केर

बस्तीलाई मुस्कुराउँदै हेरेको पर्वतमाला भन्दा अलिक तल तिर

क्षितिज बनी टोलाएका पहाडले सहकार्य गरे झैँ लाग्छ

सान्निध्यता र सम्झौताको त्रिवेणी बनेर

मलिलो तराई बर्सादमा चुर्लुम्म डुबेर

कैयनको बस्ती,बास र जीवन बर्बादीका अखबार छापिन्छ

घरै पिच्छेका इतिहास जस्ता ती दिनहरू

आज खै कोही हँसाइरहेको छैन

रुवाउँदै छन् ती गहिरा घाउहरूले

रातीको वास धर्मसिंहको घरमा

महारानीदेखि कुमारी सम्मका

ठकुरी दाजैको घरको आतिथ्यता पछि

हिड्नुथ्यो झिसमिसेमा थुप्रै नदी पार पुलहरू

खियाले जीर्ण भएका लट्ठाहरू

फलेक झरेका र कुहिएका जीर्ण पुलबाट अझै अर्को २ डाँडा काट्नुछ

कारण,

श्री धनको इहलीला सकिएको भोलि २० औँ स्मृति

साथमा छन् समृद्दी र सपना

अझै हाम्रो यात्राहरू थकानले लम्बे भएको झैँ लाग्छ

बल्ल साँझमा पुगियो श्रीधनको घर शोकमा डुबेको अवस्था

कारण श्रीधनको बुवा उपचार अभावमा जानुभयो

कात्रो किन्न नसकेर ,कात्रो पाउने बजार दुई दिन टाढा भएर

उसै दिन नजिककै खोल्सीमा १५ जना गएर दाहसंस्कार गरिएको

श्रीधनको बुवाको ५ औँ दिनमा हाम्रो यात्रा गन्तव्यमा पुग्यो ,

श्रीधनका हातले पेन्टिङ गरिएको नारा देखाउँदै

श्रीधनको छोरी श्रीया

बुवाको त्यो अक्षरले

आज पनि बुवा

त्यो अक्षरबाट हामीलाई बोलाइरहनुभएको भान हुन्छ,

भन्छिन् ,बुवाको हातले गरिएका बाल पेन्टिङ्हरु मेटिन मानेनन्

तर आज वीरताका अस्तित्वहरू मेटिएका,बलिदानहरूको व्यापार पो छ बुवा भनेर

त्यो वालपेन्टिङ्को मुनि अर्को नारा लेख्नु मन लाग्यो अंकल ,दिज्जु !!

हामी स्तब्ध भयौँ,बाघचन्द भावुक हुनुभयो

स्मृति भक्कानिएर रोईन्

श्रीधनको आमा अचेत ढुकढुकीमा पराल माथि

गाउँ विकट छ ,नेता घरैपिच्छे छन्

तर श्रीधनका सपनहरु कू गरिएको

मैलो संसदीय व्यवस्था बिरुद्द

श्रीधनपुत्री अर्को नारा थप्न चाहन्छिन्…

नि:शब्द र स्तब्ध बनाउँदै संसदीय व्यवस्था त आयो

तर मर्माहत बनाउँदै गणतन्त्रको हत्या पो गर्छ कि

कारण यहाँ दलाल प्रधान अस्तित्वको संसदीय अभ्यासले

लोकतान्त्रिक विधान र पद्धति माथि नै धावा बोलिरहेको कारण

श्रीधनको छोरी भन्छिन् बुवाको बाल पेन्टिङ मुनी म एउटा नारा लेख्छु

बुवा ,हिजोका सपना आज तस्बिर व्यापारको बजार बनेको छ भनेर

सेतीमा बहेको पानीमा श्रीधनको रगत बहेको छ

सेतीको बगरमा श्रीधन, सन राइजहरुको कंकाल भेटिन्छ

सिन्धुको किनारमा बेपत्ताहरुको अस्थिपञ्जर भेटिन सक्छ

कति धेरै बग्रेल्ती प्रश्न अविरल सोधिरहेका छन्

सेती बगाइदिने साइपाल हिमालहरू

इन्द्रावती बहाइदिने जुगलहरु

हो,आज वाल पेन्टिङ मुनि एउटा नारा थप्नैछ

रातो अक्षरले हैन कालो अक्षरले

बलिदानको यहाँ व्यापार भएको छ ।।

– प्रकाशित मिति, २०७७ साल श्रावण ८  गते ,बिहिवार

प्रतिक्रिया दिनुहोस्