मेरो देश
अन्न रोप्ने खेतमा ठुला ठुला महल रोपेपछि
,हाहाकार त मच्चिने नै भयो स्वदेशमा,
सृजनशील हात-पाउ विदेशीको जिम्मा लगाउन परेपछि।
भकारीभरी हुन्थ्यो अन्न गोठमा जाँदा बस्तुभाउ टन्न,
साँझ बल्ल घरमा सिजनमा खुसीले दिनभर काम गरेपछि।
गाउँ रित्तै छ, वारि बाँझै छ, युवा जति खाडीमा छिरेपछि।
अनिकाल त अब पो झन् लाग्ला छोरा
विदेशतिर बुहारी बच्चा च्यापेर शहर झरेपछि।
कालो बजारले आकाश त त्यसै पनि छोला
फापर र तोरी झुल्ने बारीमा कालोपाती फुलेपछि।
देशमा पनि छैन शान्ति नियम बनाउँदै मिच्दै,
आफै धामी आफै बोक्सी भएपछि ।
चन्द्र सूर्य अंकित रातो झन्डा रुदै फर्फराउछ,
कुर्सीको लागि देशको माटो कित्ता- कित्तामा बेच्दाखेरि।
सम्झनाले सताइदिन्छ अति,
यो बिरानो मुलुकमा नेपाली रगत र पसिनाले पैसा साट्न परेपछि ।
मन दुख्छ हाम्रो पनि,
देवी पुज्ने देशमा खुलेआम इमान र चेली बेचेपछि।
जता छाम्यो त्यतै दुख्छ गाउँको विडम्बना,
पुराना संरचना भत्काएर पुनर्निर्माण नगरेपछि ।
यता पनि त्यस्तै छ हजुर घण्टा पिच्छे पट्किन्छ बम,
बारुद सुघ्दै ज्यानको बाजी लगाउनु परेपछि।
अतालिन्छ यो मन घरी घरी,
बिरानो मुलुकमा पसिना र रगतले पैसा साट्नु परेपछि ।
बालकुमार क्षेत्री
हाल काबुल ( अफगानिस्तान )
प्रकाशित मिति, २०७४ साल मंसिर ५ गते ,मंगलवार