कविता – आदिम लय
-प्रकाश रम्घाली
गीत गाउदै-गाउदै उडुन्
—चराहरु आकाशमा
बादलले पटक्कै नछेकोस्
–जून-ताराको सुन्दरता
नथाकी पुरा गरोस्
–जूनले धर्तिको यात्रा
र, कृपया घामले
—ठट्टा नगरोस् मान्छेहरुसँग ।
—नदी सभ्यताको लागि बगोस् —
पहाडहरु उभियून् सिमानाको रक्षार्थ !
गाउनुपर्ने बाँकी
—दुखको गीत नहोस्
नओईलाउन अबोध ओठबाट
–फूलजस्ता मुस्कानहरु
र, नबल्झियोस् देशको पीडा
परदेशीहरुको छातीमा ।
ताजै हुन् स्मृतिका कलशमा
–फूलका सुगन्धहरु
बिरानो नहोस्
–कसैको सिमान्तकृत आवाज
र, मेटियुन् विभेदहरु
–सिसा कलमको अक्षर झैं ।
बिरानो भईसकेको
–सारङगीको तारबाट
फेरि जन्मियुन्
–झलकमान गन्धर्वका स्वरहरु
ईन्द्रेणी सुखबाट
–नछुटोस कुनै यौटा रङ
र, नचुडियोस्
–कसैको सनकमा लालुपाते देश ।
हिड्नु छ भने हिडोस्
आफ्नै विचारसंग असहमति राखेर
समय तर, जानु अघि
— निशर्त:
छाडी जानु पर्ने छ
पहाड जत्तिकै पुरानो
–चराहरुले गाउने गीत
र, नदीझै बगि हिड्ने
–मानिसहरुको आदिम लय !
हाल,तनहूँ
नोट: प्रस्तुत कविता कवि विमल स्मृति पुस्तकालय धरानद्दारा हालसालै आयोजित “राष्ट्रिय कविता प्रतियोगिता “मा द्दितिय पुरस्कार प्राप्त गर्न सफल भएको छ
– सम्पादक