कविता – झोला
– अर्पणा “सर्बिन”
निला निला आकाशमा
बादलका धर्सासङ्ग आसगर्दै
हरेक चुनौतीसँग आँटगर्दै ,
वाधासँग पौठेजोरी खोज्दै
साहस र हिम्मत देखाउँदै
हिंडिरहेकि छिन सर्बिन।।
सर्व नयनमा सजिन
शब्द शब्द मालामा उनिन
छरिएका फुललाई सँगेल्दै
अनेक तिखा काँडाले घोचिदै
कहिलेकाही शिथिल भएर
पटक पटक फुटपाथ नाप्दै
२० औं वर्ष लगातार
झोलामा नै रगत पसिना बोक्दै
देश बचाउन खोज्दै
झोलेको उपाधि खेप्दैछिन् सर्बिन
झोले भन्छन् र त !!
त्यही झोलामा देशप्रतिको अगाध माया
बोकी हिंडेकि छिन् आजसम्म ।
त्यै झोलाभित्र सदैव
मातृभूमिप्रति श्रद्धागर्दै
आस्था र विश्वासको मन्दिरभित्र
देवतासरी पूज्य छवि भेट्दै
हिमालको जस्तै सान पाउँछु ।।
झोलामा
पाउँदिन तस्करीका सुन,
पाउँदिन भ्रष्टाचारको धन
मात्रै यो राष्ट्रको माया र सद्भावनाले
ओतप्रोत भएको किताब पाउँछु
म जस्तै थुप्रै थुप्रै सर्बिनहरुले पनि
शायद पाउँछन् होला यस्तै यस्तै आफ्नो झोलामा।
हो म त झोले पो ! हुँ त
बोक्छु झोलामा लालिगुराँसका फुल
र ढाका टोपीको विशेषता
अनि अरू केही छैनन्
मात्रै झोलामा नेपालको झन्डा बोकेको छु
छैन कुनै झोलामा बम र बारुद
म जस्तै झोलामा देश प्रेम बोक्ने
थुप्रै कविहरु छन् ।
बोक्छ्न झोला
बोक्दैनन निराशा
बोक्दैनन अहङ्कार
बोक्दैनन तोप गोली
मात्रै बोक्छ्न झोलामा
जन्मभूमिको माया।।
२०७४/०५/२६