Logo

सिर्जना वाचन डबलीको आठौँ शृङ्खला भव्यताका साथ सम्पन्न

मन एकल,दस्तावेज,भाद्र २३ गते शुक्रवार २०७४, युएई,दुबई – युएईका विभिन्न सहरमा छरिएर रहेका सर्जकहरुलाई एउटै मालामा उन्ने प्रयासमा आजभन्दा झन्डै दुईबर्ष अगाडि सुरुवात गरिएको स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको आठौँ शृङ्खला आज मिति २०७४ भाद्र २३ गते शुक्रवार दुबई सहरको सिन्ध पन्जाब रेष्टुरेन्टमा चार दर्जन स्रष्टा तथा सर्जकहरुको बाक्लो उपस्थितिमा भब्यताकासाथ सम्पन्न भयो ।

दुई चरणमा बिभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा विगत लामो समयदेखि साहित्य साधनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका अग्रज कवि कृष्ण प्रसाईं ज्यूको नव कविता कृति “घामको विरासत ” युएईका अग्रज सर्जक श्रष्टाहरुको समुपस्थितिमा विमोचन गरियो ।

उक्त कृति उपर साहित्यकार कृष्ण विश्वकर्माले विश्लेषणात्मक समालोचना प्रस्तुत गर्नुभएको थियो भने यसै कृतिमा समाहित ३६ बलशाली कविताहरू मध्येका एउटा सशक्त कविता “सेवारो है सेवारो” युएईका सर्जक अमन एकलले वाचन गर्नुभएको थियो। सबैलाई मन्त्रमुग्ध बनाउने यस कविताले गड्गडाहट तालीका साथै राम्रो वाहवाही पाएको थियो । प्रखर कवि प्रसाई नव कृति विमोचन गर्ने अवसर पाएकोमा सिर्जना वाचन डबली युएई परिवारले प्रसाईंलाई कृति व्यापकताका कामना सहित धन्यवाद ज्ञापन गरेको थियो ।

पहिलो चरणको विमोचन कार्यक्रम समापन पश्चात् सिर्जना वाचन डबलीको नियमित सिर्जना वाचन कार्यक्रमलाई कार्यक्रम सञ्चालक अमन एकलले अगाडि बढाउनुभयो । कार्यक्रमको सुरुवातमा नवलपरासीका सर्जक डी एल घिमिरेले शृङ्गारिक भावको गजल मार्फत पुरुष प्रधान समाजलाई कटाक्ष प्रहार गर्नुभएको थियो ।

त्यसैगरी सरोज संगम,कमल के थापा ,प्रमोद थापा,चन्द्र श्रमिक , कृष्ण विश्वकर्मा ,कान्छो भुपेन्द्र अर्याल ,उदिन क्षेत्री विवश ,सेल्कर पाख्रीन तामाङ ,महेन्द्र चापागाईं,लक्ष्मण कुंवर, रमेश क्षितिज बराल ,निमेष गिरि ,ऋतु रोका,चन्द्र क्षितिज ,विनोद सेन पाल्पाली, ओम कुमारी खाँड, राजिव जी सी संघर्षी,प्रतीक संग्रामी ,सञ्जयको सिर्जना ,दलबिर बराईली घायल ,अमन एकल, टक गुरुङ लगाएतका सर्जकहरुले आ आफ्ना दमदार कविता,गजल, मुक्तक लगाएतका सिर्जनाहरु वाचन गर्नुभएको थियो ।

प्रवासमा हरसाँझ बिहान बगेका आँसुका बहाबले उदासीन मुग्लानीहरुका व्यथा समेटिएको कृष्ण विश्वकर्माको गजल गायनले कार्यक्रम हलका मन मस्तिष्कहरु स्तब्ध बनाएको थियो भने जीवनका यथार्थता झल्काउँदै मालीले नै बर्बाद गरेको मेरो देश भन्दै सिर्जना वाचन डबलीका संयोजक टक गुरुङले तरन्नुम शैलीमा गजल गायन गरी सबैलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।

कार्यक्रमको मध्यान्तरमा अमन एकल र ऋतु सन्धी रोकाले दसैँ विशेष मुक्तक दोहोरी प्रस्तुत गरेर सबैका नयन रसिला बनाउनुभएको थियो भने कार्यक्रम आउनुभएका नव सर्जकहरुले पनि पहिलो उपस्थितिमै सबैको मन जित्नेगरी आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

दिनको ११ बजेबाट सुरु भएको उक्त कार्यक्रममा बहरका कुशल साधक प्रमोद थापा , राजिब संघर्षी,दलबिर बराईली घायल लगायतले बहरे गजलको बेजोड प्रस्तुति दिनुभएको थियो साथै अतिथि सर्जकहरुको उपस्थिति र सिर्जनाले डबलीको थप रौनकता बढाएको थियोे । अधिकांश सिर्जनाहरुमा प्रवासी यन्त्रणा, राष्ट्र र राष्ट्रियता प्रतिको अगाध प्रेम, बिछोडका दर्दहरु, चाड पर्वहरुमा प्रवासमा पिरोलिएका मनका ब्यतित आरोह अवरोहहरु समेटिएको थियो ।

आगामी नवौँ शृङ्खला युएईको अर्को शहर सारजाहमा गर्ने निर्णय सहित पाँच बजे कार्यक्रम समापन भएको थियो । सिर्जना वाचन डबलीमा प्रस्तुत भएका विविध सिर्जनाहरु सहयात्रा टि भी को युटुब च्यानल, बुलबुल लगाएतका नेपालका झन्डै डेढ दर्जन भन्दा बढी रेडियो स्टेशनहरुबाट प्रसारण हुने कुरा कार्यक्रममा जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्