कविता
-राजेन्द्र पाण्डे
सन्ध्याको प्रहरमा होस् या
उषाको लालीसँगै होस्
हरपल,बारम्बार
लोभलाग्दो गुलाबी मादक मुस्कान बोकेर
अनायसमै
मेरो मानसपटलको क्यानभासमा
नशालु नयन सहित
पूर्ब क्षितिजदेखि
सजिन आउँछे एउटी ‘अजनवी ‘
माघको ठिहिर्याउने जाड़ोमा
पाहारिलो घाम बनेर आउँछे उ
जेठको उखुर्माउलो गर्मिमा
जरुवाको चिसो पानी बनेर आउँछे उ
लालीगुराँसको सिंगो पाखो
आफ्नै ओठमा बोकेर आउँछे
खोई कुन्नि किन ?
थाहा छैन
बारम्बार,हरपल
मेरो स्मृतिको भित्ताहरुमा
गाजलु आँखाहरुले
लोभ्याउदै,मुस्कुराउदै आउँछे एउटी ‘अजनवी ‘
साचिकै उसँग एकपटक भेट्न मन छ !
पेट भर्नेगरी अघाउन्जेल बातमार्न मन छ !
गाजलले रंगिएका उसका नयनहरुसँग
नथाकुन्जेल मलाई नयन जुधाउने रहर छ !
जलजलाको पाखाभरी
फूलेको लालीगुराँस
आफ्नै ओठमा बोकेर ल्याएकी छे उ
एकपटक मलाई
त्यही लालीगुराँसको फेदमा बसेर
गुराँसको थुँगा चुम्ने मन छ !
प्रकाशित मिती २०७४ साल भाद्र २ गते शुक्रवार