कविता – म मुर्दा बनेर ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेछु !
– शेखर ढुंगेल (बरिष्ठ लेखक तथा साहित्यकार)
म मुर्दा बनेर ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेछु !
गिज्याउदै छन् मलाई ज्यूँदा भनिनेहरु
नालायक तमासे बाहेक के गर्न सकिस् ?
सम्झन्छु त्यो दिनहरु,
ति ठुटाहरु भाँचेको बुटाहरुमा डोको भरेको ति बाङ्गा औंलाहरु
अहिले सोझा भएका रहेछन माझी देखि छोरी औंलासम्म
सुनको तार बेरिएको रहेछ ।
भैंसीको पिठ्युँबाट लड्दा भाँच्चिएको दाँत सुनले भरिएको
हेहेहे …….बधाई छ परिवर्तन म मुर्दा भएर हेरीरहेछु !
गाडीमा जुत्ता फुकालेर चढ्ने त्यो सिधा गाउँलेले
मलाई देखेर खितखित गर्दै,
निक्कै ओहर दोहर बढाएको छ मेरो वरिपरी
थाहा छैन खोइ किन हो उ मलाई चिढ्याउने गर्दछ
चिनेन कि चिन्न चाहेन म भ्रम बोकेर हेरीरहेछु !
के उ उही हो ?
के उ उही हो जो मेरो घरको भाडा नतिरी भागेको थियो
सुनसान रातमा अर्को टोलमा डेरा सरेको थियो
आज मेरो घर मोलमोलाई गर्न आइपुग्यो ।
मैले बेच्न इन्कार गरें उसले नचिने जस्तो गर्यो
उसले मलाई मुर्ख भन्यो अरुले हो मा हो लगाए
मैले हाँसी हाँसी धन्यवाद भने ।
हो म यो शहरमा मुर्ख बनेर तमासा हेरीरहेको छु
ज्यूँदा भनिनेहरुको नृत्यमा मनोरञ्जन गरिरहेको छु
म बिकाउ छैन म बिकेको छैन !
मैले मेरो बिबेक बेच्न पसल थापेको छैन
त्यसैले,
हो म मुर्दा झै शान्त छु कसैको ढोका कुर्न गएको छैन ।
हो म मुर्दा बनेर यो शहरमा ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेको छु
हरपल मरी रहेका आफू बाँच्न अरुलाई मार्ने ज्युँदाहरु भेटिरहेको छु
स्खलित ज्यूँदाहरुको नैतिकता,
मर्दै गएको ज्यूँदाहरुभित्रको मानवियता,
त्रास र तनावमा अग्निझैँ रन्किएको अनुहार हेरिरहेको छु
म पनि हाँस्छु कहिले काँही पटकपटक
र यो शहरमा मरिरहेका ज्यूँदाहरुको तमासा हेरिरहेको छु ।
अधिकारिलाइ मार्ने राज्य यहाँ हाँसीरहेको छ
डा .के.सी.लाई मार्छ यो पक्का छ
यहाँ गाडी भन्दा सस्तो मानिसको मुल्य छ
म मुर्दा भएर ज्यूँदाहरुको तमासा हेरिरहेको छु !
एक दिन होइन दुइ दिन होइन सातौं दशक भयो तमासा हेरिरहेको छु
बलात्कारीहरुलाई गलामा सम्मानको माला लगाउनेको भिड छ ।
माटोको अवमुल्यन गर्नेहरुको अट्टहासले त्रसित शहर निरिह छ
खोइ कस्तो चस्मा पहिरिएका छन् कुन्नि ?
मेरा अगुवाहरुले,
मैले अश्लिल देख्ने उनीहरु श्लिल देख्न थालेका छन्
मैले देखेको लज्जा,
उनीहरुका लागि इज्जत र मज्जा भएको छ ।
म स्वाभिमानको दृश्य देखाउँदै थिएँ
उनीहरु घुँडा टेकेर टाउको ठाडो पारेको
राष्ट्रबादको परिभाषा गर्दैथिए,
साँच्चिकै मेरो सदाचार मुर्दा भएको छ !
अत्याचारिले छातीमा टेक्दा ऐया समेत नगर्ने भएको छु
हो म यो शहरमा मुर्दा बनेर ज्यूँदाहरुको तमासा हेरीरहेको छु
तर म विश्वस्त छु,
एकदिन एउटा आँधीवेहरी उठ्नेछ
अँध्यारो भएर भुमरी आउनेछ
र मलाई ब्युँताउनेछ ।
त्यस दिन अन्यायी अत्याचारी ब्यभिचारी भ्रष्टाचारीहरु
टाढा पुग्नेछन र मुर्दा बनेर पश्चातापको आँसुमा डुब्नेछन् ।
म ज्यूँदो भएर मुर्दाहरूको तमासा हेर्नेछु …….
हाल ,अमेरिका
प्रकाशित मिती २०७४ साल श्रावण २७ गते शुक्रबार