Logo

हिमालको आवाज-२१

            -साहित्यकार ,दामोदर पुडासैनी किशोर

हिमाल टाढाबाट हेर्दा सधैँ टुक्रुक्क बसेझैँ लाग्छ

नजिकबाट नियाल्दा सधैँ छमछमी नाचिरहेछ

 

नर्तकीनै नर्तकीको संगतमा हिमाल नाचिरहेछ

जस्तो कि हिमालमा, चाँदीको धूलो बोकेर

 बादल र कुहिरो नाचिरहन्छन् हिम सौन्दर्य सुँघेर

याक,नाक,झोक्पे र खच्चरहरू नाचिरहन्छन्

हिमालकै लयमा झरना ,खोला र तालहरू नाचिरहन्छन्

 

तरुना तरुनी नाचेको देखेर छुनुमुने बच्चाहरू नाचेझैँ

सधैँ कुहिरो र हिमालसँगै नाचिरहन्छन्

डाँफे ,मुनाल र रंग  रंगका चराहरू

हिमाल ब्युँझाइरहने मान्छेका सुरिला भाकाहरू बोकेर

 एकनास नाचिरहन्छन्

 हिम हावा हिमालका कुना र चुचुराहरूमा

हिमालजस्तै लहर लागेर हिमालसँगै नाचिरहन्छन्

हिमालजस्तै मान्छेहरू

 

आँसु बहाउनको लागि नाच्छ हिमाल

पीडा बगाउनको लागि नाच्छ हिमाल

हिमालसँग असीम उत्तेजना छ

त्यो सबै फैलाउनको लागि नाच्छ हिमाल

अलिकति डर,अलिकति आपत् र अलिकति अभाव

 हिमालमा पनि छन्

ती सबैको विरुद्ध आशा र उमङ्गको जून

दुई हातमा सजाएर लहरबद्ध नाचिरहन्छ हिमाल

हिमालमा बस्नेहरू कि हिमालकै सिको गरेर नाच्छन्

कि हिमालमा सपना सजाउन नाच्छन्

जो जो नाच्छन् हिमालमा हिमलयमा

उनीहरू हिमालजस्तै सफा ,

सफल र सहयोगी बनेर बाच्छन्

 

मान्छेहरूलाई हिमाल चढाएर हिमशैलीमा नचाउने हो भने

हिमोटझैँ खस्नेछन् मान्छेभित्रका दम्भ,असन्तोष र आलश्यहरू

सट्टामा ब्युँतनेछन् हिमालजस्तै उर्बर उच्च सपना

 

हिमाली आँगनमा हिमालसँग नाचेपछिमात्र

सबल र सार्थक बन्नेछन् तिम्रो र मेरो प्रेमिल योजना

 

हिमालमा नाचुन्जेल हिम हावासँगै हल्लिरहे

मेरा सम्पूर्ण अङ्गहरू

सट्टामा कसैसँग साटियो , हिम ज्योतिको सुन्दर मन

 

जिन्दगी त हिमाल चढेर नाच्नुनै हो रहेछ

कठिन कठिनसँग जुट्छ नृत्यालय

कठिन कठिनसँग जुट्छन् नृत्याङ्गनाहरु

 कठिन कठिनसँग उठ्छ लयदार स्पन्दन

जब जुरुक्क उठ्छ नाचको मूर्च्छना

तब कसैले रोकेर रोकिँदैन जीवनगीत र जीवनगति

 

तिमीसँग नाचिरहेको बेला

जीवनलाई बेस्सरी काउकुती लगाईरह्यौ

हामी दुबैले सट्टामा हाँसिरहेछौँ मनैदेखि

 

एकपटक मात्र भएपनि हिमालसँग नाच्न पाउने हो भने

बाँकि रहन्न कुनै अँध्यारो ,मनको कुनामा

हिमाल रहुन्जेल रोकिनेछैन-,हिम मनको हिमाली नृत्य

-२०७६ भाद्र २६ थामे गाउँ , सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्