पूर्ण कविता (कविता)
(शार्दूलविक्रीडित छन्द)
– शंकर ढकाल
के को आज अभाव लाग्छ छ भनूँ एक्कासि लोभी बनी
माताको ममता मिली कति हिँडेँ धूलो हिलोमा पनि ।
पूर्खे वीर चिहान मुन्तिर खसी बस्दैछु आफ्नै क्रिया
मेरो पूर्ण म भित्र नै छ कविता लेख्छौ तिमी के प्रिया ।।१।।
नाङ्गो शासक नाच धेर पहिले देखेर सानी कसो
बिर्सी इज्जत नाच्न लाज अहिले लाग्दैन बानी बस्यो ।
श्रोताको पनि फूल झैँ प्रिय बनी सुम्पेँ सुगन्धी रस
होला पूर्ण स्वयं नलेख कविता लेखेर झन् नीरस ।।२।।
धेरै नै बलियो छु झैँ म खुकुरी यी कम्मरैमा धरी
भ्रातासन्निधि रक्तखेल अहिले खेली सिमानाभरि ।
छाती या शिरपाउ घाउ छ भने पारूँ र के दाउ म
खाऊँ खै यसमै छ पूर्ण कविता लेखेँ भनी भाउ म ।।
गोर्खाली स्थलमाझ एक रुखका हौँ फूल हामी तर
कोही चुट्छ हुनेछ भेट नचुटे झन् भेट नै हुन्छ र ।
आफैँ चन्द्र तिमी बन्यौ र म बनेँ रातो र तातो रवि
हामीमै छ अभावपूर्ण कविता चाहिन्न नौलो कवि ।।४।।
हेला धेर गरेर भाग्य कि दिइन् थोरै विधातेश्वरी
के हो दुःख तिमी म बुझ्नु कहिले खै के गरी के गरी
खादैखानु हुँदैन प्राण छ भने हामी अरूको नुन
लागे भोक हुनेछ भोक कविता झन् पूर्णशाली सुन ।।५।।
– तानसेन ,पाल्पा