कविता – बुख्याँचाहरुले चर्चेको देश
– मनोज सिलवाल
अचानक आमाले फरिया चोलो छाडी दिनुभयो
र कुर्ता सुरुवालमा देखिनुभयो;
पिताजी कमिज सुरुवाल र इस्टकोट फुकालेर
ट्र्याक सुटमा देखिनुभयो;
मेरी श्रीमती मिनिस्कर्टमा र छोरी घुँडा र तिघ्रामा उध्रेको जिन्स
र आधी छाती देखिने सर्टमा देखिइन् ,
छोरोको छोटो कपाल बढेर चुल्ठो र कानमा लर्के मुन्द्रा देखियो !!
एकदिन, म अफिसबाट आउँदा यस्तो बदलिएको चलन देखेर छक्क परेँ र
म अलमलिएँ पनि झस्किएँ, कतै अर्कैको घरमा त पसिन ?
उड्कल, ढिकी, जाँतो र हलो/जुवाले मलाई एकटक हेर्दैथिए
गोठमा गाई/बाच्छाहरू पनि मलाई नै प्रश्नवाचक दृष्टिले हेर्दैथिए
सधैँ खोले र घाँस खाने उनीहरू,
बोरामा ल्याइएको दाना खाने कि नखाने भनेर मतिर हेर्दै थिए !!
यस्तै अन्यमनस्कतामा म कोठामा पसेँ र
खुइय्यsss सासफेर्दै ढाका टोपी र दौरा सुरुवाल खोलेँ
थाकेको जीउ र मनले एकछिन पल्टिनुपर्यो भनेपछि
म ओछ्यानमा पल्टिएँ,
तुरुन्तै सपना देखेछु खेतका आली र बारीका डिलमा
बुख्याँचाहरूको सम्मेलन रहेछ,
बुढा बुख्याँचाहरू अगाडि थिए
र युवा भन्न रुचाउने प्रौढ बुख्याँचाहरू नेपथ्यमा थिए,
बुढा बुख्याँचाहरू भन्दै थिए,
“मैले कोशी गण्डक सुस्ता महेशपुर बेचिदिएँ ।”
अर्कोले बुख्याँचाले भन्यो ,
“मैले महाकाली अरुण बरुण टनकपुर बेचिदिएँ ।”
फेरि अर्को बुख्याँचाले भन्यो,
“मैले सत्र हजार काटीदिएँ, यो देशलाई सात भागमा बाँटी दिएँ ।”
होहल्लाबाट बुझिन्थ्यो,
कुनै न कुनै बुख्याँचाले केही न केही त बेचेकै रहेछन् !!
अनि झस्याङ्ग भएर ब्युँझिएँ
एकछिन टोलाएपछि मनमनमै सपना केलाएँ,
आमाको कुर्ता सुरुवाल, छोरोको चुल्ठो र
छोरीको फाटेको जिन्स त केही हैन रहेछन् ,
यहाँ पहिरन मात्र हैन धर्म पनि थिचेका रहेछन्
सिमाना पनि मिचेका रहेछन्
सहिदका सपना किचेका रहेछन्
पानीमाथि ओभानो छु भन्नेहरू निथ्रुक्कै भिजेका रहेछन्,
अनि त देश बनाउने युवाहरू निर्वासित भएका
र देश बेच्ने बुख्याँचाहरू चुनावमा निर्वाचित भएका रहेछन् !!
– गोदावरी, ललितपुर १३ पुष २०७७