Logo

हिमालको आवाज-१८

         -साहित्यकार ,दामोदर पुडासैनी किशोर

चढ्नु अघि हिमालहरू अग्ला र डरलाग्दा थिए

चढेपछि बिस्तारै आए तिनीहरू मेरो अँगालोमा

र ,बगाउन थाले मेरो मुटुमा मायाको हिमनदी

 

हिमालको चुचुरोमा पुगेपछि

 नियाले मैले सारा संसारलाई

संसारभरबाट हिमाल नियाल्नेहरूले

मलाई ठानिरहे जमेको हिउँको नीलो ढिक्का

 

हिमालको चुचुरोमा पुगेपछि मैले थाहा पाएँ,

 यो सारा संसार घुमिरहेछ मेरै हत्केलामा

र मेरै काँधमा बोकेर हिँडिरहेछु संसारलाई

 

तिम्रो र मेरो सम्बन्ध हिमाल चढे जस्तै हो

चढ्न गाह्रो चढेपछि उज्यालो

 

हिमाल चढ्ने बेलामा मैले वास्ता गरिन

चढ्ने बाहेक अरू प्राप्ति

केवल टिकाइरहन खोजेँ ज्यानलाई

र दिइरहें आफ्नो सबै समय हिमाललाई

 

मेरो सबै समय पाएपछि तिमीलेजस्तै हिमाललेपनि

कयौँ अप्ठ्याराहरूमा फूल उमारेर

चढाइरह्यो उसका अन्तिम किनारासम्म

 

प्रत्येक कोमल बस्तुहरू कडा हुन्छन् असाध्यै

सुलुत्त परेको कडा चट्टान नठान हिमाललाई

संसारका सबै मान्छेको कोमल मुटु चाँग लागेर

हिमरस पियाउँदै उभिएको छ उन्नत हिमाल

 

हिमालको आँखामा आगो दन्किरहेछ

 तिमीले र मैले एक एक पसर आगो सापटी लिनुपर्छ

हिमालसँग र पगाल्नुपर्छ ढिक्का बनेर बसेको

हामीभित्रको अँध्यारो डरलाई

 

हिमाल होर्डिङ बोर्डमा अटाउँदैन

हिमालको होर्डिँग बोर्ड बनाउनुको कुनै अर्थ छैन

सक्छौ भने तिमी आफैलाई होर्डिङ बोर्ड बनाएर

टाँग हिमालका भित्ताहरूमा

 

तिमी नै भन ,

पूर्णेको जून मुन्तिर मैले हिमाललाई चुम्बन गरूँ

अथवा,सम्झूँ तिमीलाई

 

-२०७६ आश्विन ५ गते आइतबार रुम्जाटार ,ओखलढुङ्गा

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्