Logo

वरिष्ठ साहित्यकार दामोदर पुडासैनीलाई साहित्य चेतना पुरस्कार प्रदान गरिने

बिराटनगर-चेतना संरक्षण प्रतिष्ठान नेपालले वि.सं. २०७७ सालको धर्मानन्द/रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी रु. १,०१,०००/–(अक्षरुपी रु.एकलाख एकहजार) र सम्मान रहेको कुरा प्रतिष्ठानले जनाएको छ । वरिष्ठ साहित्यकार पुडासैनीका हिमालको आवाज, समयको सहीछाप, सहर बिनाको सहर, पहाड र प्रेम, आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, उज्यालो खोजिरहेको घाम जस्ता कविता सङ्ग्रहहरू , यात्राका प्रेमिल तरङ्गहरू , नमेटिएका चित्रहरू, मायालु हुम्ला , सिमानाका रङ्ग सिमानाका तरङ्ग र पर्खालभित्रको राजधानी जस्ता नियात्रा सङ्ग्रहहरू र धर्मको ह्याङ्गओभर जस्ता दर्शन विधाका कृतिहरू आम पाठकले निकै रुचाएका छन् ।

विश्वका झण्डै तीन दर्जन मुलुक तथा नेपालका ७६ जिल्ला भ्रमण गरिसकेका पुडासैनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दर्जनौ पुरस्कार प्राप्त गरिसकेका छन् । पुडासैनीकै विभिन्न कृतिहरूमा केन्द्रित भएर विश्वविध्यालयका दर्जनौ उच्च तहका विध्यार्थीहरूले शोध प्रबन्ध तयार गरेका छन् । समाजेसेवी हरिभक्त सिटौलाद्दारा आफ्नो बुबाआमाको नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा २०७७ माघ २४ गते बिराटनगरमा विशेष समारोहका साथ समर्पण गरिने व्यहोरा एक विज्ञप्तिमा प्रतिष्ठानले जनाएको छ ।

सोही अवसरमा बालकिशन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार डा. विणा पौडेललाई, आमेप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार मदन राईलाई, नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार मोहन दुवाललाई, भूपेन्द्र/शोभा रिजाल ललितकला चेतना पुरस्कार माया पौडेललाई र केदार मञ्जु सत्याल वाल चेतना पुरस्कार प्रिन्सा रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको कुरापनि चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षले बताउनुभएको छ । ती सबै पुरस्कारको राशी एकाउन्न हजार रहेको व्यहोरा प्रतिष्ठानद्दारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, ललितकला, समाजसेवा, सनातन मानवीय धर्म–संस्कृति, पत्रकारिता लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पाँच दर्जनभन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत र सम्मानित गरि डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेको व्यहोरा पनि अध्यक्ष गंगा सुवेदीले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्