Logo

कथा – समाजको ऎना

उबेलै बाले मेरो कुरा खाएको भए आज मलाई यो नर्क जस्तो जिन्दगी जिउनु पर्दैन थियो । यो शताब्दीमा आइपुग्दा पनि विधवालाई समाजले हेर्ने दृष्टि परिमार्जन भएको छैन । जुन भन्ने आफ्नो मान्छे नभएपछि घर, माइती भन्ने कुरा पनि यस्तै रहेछ । दिदीले भागेर दोलखाको मगर केटोसँग विवाह गर्नुभयो । दुई महिनाअघि मात्र जाजरकोट सरुवा भएर खानेपानी संस्थानको हाकिम भएर आउनुभएको रहेछ भिनाजु । आएको भोलिपल्ट हाटबजारमा तरकारी किन्न जाँदा काउली लिएर बेच्न बसेकी हाम्री दिदीलाई देख्नु भएकोरहेछ अनि त्यतिबेलै माया बसेको रे । माया पनि कस्तो हो एकै नजरमा बसी त्यति सजिलै हाल्ने ? त्यसपछि कसको छोरी हो ? घर कहाँ हो ? खोजी गर्न थाल्नुभएछ त्यहीँका पुराना कर्मचारीहरूबाट सोध्दै जाँदा पत्ता लागेछ । एकदिन हाम्रो घरमा दूध ठेक्का माग्न आउनुभएको त मैले पनि चाल पाएकी थिएँ । हाकिम बनेर त्यतिबेला भिनाजु आफै आउनुहुन्थ्यो बिहान बेलुका दूध लिन । त्यसरी नै साँझ बिहान आउँदा आउँदै दुई महिना पुग्दा नपुग्दै दिदी भिनाजु टाप कसे । तर दिदीको त्यतिबेलाको सानो गल्तीको सजायँ भने आजपर्यन्त मैले भोग्दैछु । दिदी त्यसरी तल्लो जातसँग जाँदा बाको इज्जत गयो रे । हुनपनि गाउँलेले खुब कुरा काट्थे त्यतिबेला । पण्डितको छोरी त मगरसँग गैछे । खुब नाकनिक गर्थे बुढा अब दशैंमा छोरी ज्वाइँ आउँदा कोसेली रक्सी बोकेर आउने भए भनेर पँधेरामा जाँदा कति जनाबाट आफ्नै कानले सुनेकी थिएँ ।

   सबैले कुरा काटेको सुनेपछि मलाई पनि उनीहरूको संगत मन पर्दैन थियो त्यसकारण पनि मेलापात ,घाँस दाउरा जाँदा अरुभन्दा एक्लै भएर पछि पछि लुरुलुरु हिड्थेँ । बा उदास देखिनु हुन्थ्यो भने आमा रोइरहनुहुन्थ्यो । खान बस्दा पनि त्यसले खाई कि खाइन भन्नुहुन्थ्यो । आमाको के कुरा गर्नु साँच्चै भन्ने हो भने दिदी गएपछि आमाको काम नै रुनु थियो । रातभर  बा आमा राम्ररी निदाएको मैले चाल पाइन । म पनि कान थापिरहन्थेँ । बाले कहिले सानो स्वरमा आमालाई सम्झाए झैं लाग्थ्यो कहिले चर्को डाँकोले खानुहुन्थ्यो । मलाई पनि मनभरी कुरा नखेलेका कहाँ हुन् र ? अहिलेको जमानामा जात दुइटा छन् एउटा पुरुष अर्को नारी भनेर गुरुले पढाएको झल्झली सम्झिन्थेँ । यही कुरा बालाई भन्छु भनेर उहाँको अघिल्तिर जान्थँ आँट नआएर फर्किन्थेँ । मलाई थाहा थियो जात मान्छेले नै बनाएका हुन् भनेर । एकदिन हिम्मत बटुलेर बा नभएको मौका पारेर आमाको छेउमा गएँ । आमाले फेरि दिदीलाई सम्झनु भो अनि रुन लाग्नु भो । मैले आमाको काखमा शिर राखेर ढल्किएँ । अनि आमालाई सम्झाउन लागेँ, ” नरुनु आमा ! किन रुनुहुन्छ ? दिदीले त्यस्तो के गल्ती गर्नु भएको हो र ? जिन्दगी जिउन मलाई यत्तिको केटो भए दु:ख पाउँदिन भन्ने भएर नै जानुभयो । आखिर जागिरे पनि त हुनुहुन्छ हाम्रो भिनाजु । दिदीले दु:ख पाउनुहुन्न । ” यत्ति के भनेको थिएँ आमा उसै रुँदै फलाक्न लाग्नुभयो ।

   “ए सुनिताको बा ! सुन्नु त हाम्री कान्छी छोरी पनि बिग्रन लागिछ । उतिबेला एउटा छोरो त चाहिन्छ ए बुडा विवाह गर्नुभन्दा टेरपुछार लाउनुभएन । यी बन्सोका बोटले सुख दिने भएनन् । मगर टिपेर जानेलाई ठिक गरि भनेर उसैको गुणगान गाउन थाली अब यसको पनि विवाह नगरी दिने हो भने कुन जात टिपेर हिँड्छे । ” बा पूजा गर्दागर्दै पिँढीमा आउनुभयो । आमाको काखमा ढल्किरहेकी मलाई हातमा समाएर भित्र कोठामा लगेर थुनिदिनुभयो । मैले कत्ति रुने कराउने गरेँ अँहँ बाले एक रत्ति सुन्नुभएन । बाहिरबाट चुक्कुल लगाइदिएर कता लाग्नुभयो । हाम्रो बालाई भन्दा आमालाई छोरा नभएकोमा खुब बिस्मात थियो । म जन्मिने बित्तिकै आमाको पाठेघरमा घाउ देखिएछ त्यसपछि काठमाण्डौ लगेर जचाउँदा डाक्टरले पाठेघर राख्नु क्यान्सरलाई बोलाउनु जस्तै हो भनेपछि काटेर मिल्क्याएको अरे । छोरीहरू नै थपिने रहेछन् भनेपनि आफूले अब सन्तान दिन नसक्ने भएपछि आमाले बालाई दोस्रो विवाह गर्न कर गर्नुभएको थियो । मलाई याद छ म त्यस्तै ४/५ बर्षकी हुँदा आमाले बासित “मलाई भाइ चाहियो ।” भन्न सिकाउनुहुन्थ्यो । मलाई चुक्कुल लगाएर निस्कनुभएको बा साँझ मात्र आउनुभयो अनि आफ्नै हातले ढोकाको चुक्कुल खोलेर “बाहिर आइज कान्छी !” भन्नुभयो । पिँढीमा अरु चार जना मान्छेहरू थिएँ ।

मैले धारामा गएर मुख धोएँ अनि फर्केर घरभित्र पस्न लाग्दा एक जना पाहुना बोले, “केटी यही हो तँलाई मन पर्‍यो ? ” म भित्र पसेँ । बाहिरबाट बाको आवाज आयो, ” कान्छी सबैलाई पुग्नेगरी खाना बना । ” तर उनीहरूले बाको कुरा स्वीकारेनन् , ” हैन हजुर हामी घरै जान्छौं । हाम्रो बाबु विदेशबाट आएर छुट्टी सकिन लाग्यो । अब कुरो छिनोफानो गरेर भोलि नै विवाहको झन्झट सक्नुपर्छ । खानालाई दु:ख नगर्नुस् ।”

म छाँगाबाट खसे झैं भएँ । सोचेँ मैले प्रतिकार गर्नैपर्छ । बाको डरले म चुपचाप बसेँ भनेँ मेरा सपनाहरू चकनाचुर हुन्छन् । मैले पढ्नुपर्छ ,आफ्नो खुट्टामा उभिएर सक्षम भएपछि मात्र विवाह गरेँ भने म कसैको भरमा बाँच्नुपर्दैन । म बाहिर निस्किएँ । जे सुकै होस् भनेर बडो साहस बटुलेर सबैका अगाडि गएर भनेँ, ” बा ! म पढ्छु म अहिले विवाह गर्दिन । मलाई नै नसोधी मेरो विवाहको निर्णय किन लिनुभयो ? ” आएका मध्ये एउटाले बोले, ” केटो विदेश बस्छ । विवाह गरेको एक हप्तामा फेरि ऊ जाँदैछ । घरमा म र आमा छौं । बिहान बेलुका भात पकाइदिनु दिउँसो पढ्नु ।तिमी पढ्नलाई हामीले रोक्दैनौं । ” म रुँदै भित्र पसेँ । बाले मेरो कुरा बुझ्नु नै भएन । झमक्क साँझ पर्न लागेकोले मलाई हेर्न आउनेहरू पनि गए । म नखाइ सुतेँ । बा आमाले पनि खानु भयो कि भएन थाहा पाइन । ” ए कान्छी उठ् बिहानै बजार जाने कुरा छ सबैसँग गएर तँलाई के मन पर्छ रोजेर लिनु । ” आमाले कोठामा आएर उठाउनुभयो । म रोएँ पनि जे गरे पनि मेरो कुरा सुन्ने कोही थिएनन् । जसले जे भन्छ त्यही मान्न तयार भएँ म ।

प्रतिकार गर्न त्योभन्दा साहस भएन आखिर दुलहीको साडीमा सजिनै पर्‍यो मैले । हतारको भएपनि धुमधामले विवाह सम्पन्न भयो मेरो । आखिर दिदीको रिसले बलीको बोका बन्नुपर्‍यो म । उनी परदेशी मान्छे भए पनि माया लाउन त जानेका रहेछन् । त्यो छ दिनको बसाइमा मलाई पगालेरै छाडे । मैले त्यहाँ गएर पनि पढ्न जान पाउने भएँ । मेरो रहर मेरा साना साना कुराहरूलाई पनि निकै महत्व दिएर पूरा गरे उनले । जानू अघि बा-आमा र मलाई राखेर सम्झाइ बुझाइ गरे । उनको चाहना थियो सासू बुहारी मिलुन् । घर भाँडिएन भने त्योभन्दा सुख अरु के छ र ? आखिर परदेशी न थिए बिदा सकियो उनी फर्कने तरखरमा छन् । कान्छी बेल्ट काँ छ ? कान्छी टोपी भेटिन । कान्छी मोजा खै ? यता आफूलाई चिन्ताले खाएको छ । बोल्ने मन पनि छैन । नबोली नबोली समान मिलाइदिएँ ।झोला बोकेर उनी निस्केपछि पर……… पुगुन्जेल हेरिरहेँ । देखिन छोडेपछि रुँदै आएर ओछ्यानमा ढल्किएँ । बा आमाले सम्झाउनु भयो, ” नरो बा नरो । यस अघि हामीलाई नि यस्तै हुन्थ्यो यो पटक भने मन थाम्न सकियो । छोरो गए पनि अब साथी बुहारी छ भनेर मन बुझाएका छौं ।” उनले पुगेपछि फोन गर्छु भनेका थिए म त्यही पर्खाइमा छु । पल्लो घरको टेलिफोन बज्दा पनि उनले बोलाउन पठाउँछन् कि भन्ने आश लाग्थ्यो । यसरी कत्ति दिन बित्यो अँह फोन आएन । मनभित्र जे भए पनि सबैका अगाडि हाँसिदिन्थेँ । पढ्न जान्थेँ । घरको काम गर्थेँ । भ्याएसम्म छुट्टीमा मेलापात , घाँसदाउरा पनि गर्थेँ ।

हाम्रो विवाहकै दिन गाउँमा अर्को विवाह पनि भएको थियो । राजेश परदेश हुँदा फोनबाट प्रेम परेको अरे भन्ने सुनेकी थिएँ । प्रेम भएपछि राधालाई मागेर राजेशले विवाह गरेका रहेछन् । मेरो मान्छे परदेश गएको भोलिपल्ट राजेश पनि गएका हुन् गाउँबाट । हामी दुबै उस्तै थियौं त्यसैले पनि हाम्रो गफ मिल्थ्यो । वन जाँदा पनि दुइटी जान्थ्यौं । पढ्न गए पनि दुइटी जान्थ्यौं । राधालाई त राजेशले फोन गरिरहन्थे किनकी उनले राधालाई मोबाइल छोडेर गएका थिए । उनीहरू हाँस्थे बोल्थे मेरो मन भने खिन्न हुन्थ्यो । आज फोन आउला भोलि आउला भनेर दिन गनेको पनि १५ दिन बितेछ । सदा झैं राधा र म कलेज गयौं र परीक्षा मिति तोकिएको थाहा पायौं । मिति तोकिए पनि सेन्टर कहाँ पर्छ थाहा थिएन । एकातिर उनको फोन आउँछ कि भन्दा भन्दै मेरो दिन बित्थ्यो अर्कोतिर परिक्षाले तनावग्रस्त थिएँ । फेरि पनि मैले आफ्नो अध्ययनलाई तीब्रता दिनु थियो । यस्तै दैनिकीमा दिनहरू ढल्किदै थिए । परीक्षा नजिकिदैं थियो । कसको सेन्टर कुन स्कुलमा पर्‍यो भनेर कलेजले सूचना पनि निकालेको थियो । संयोगवश मेरो नाम रमिला भएकोले वर्णानुक्रमको आधारमा राधा र मेरो सेन्टर एकै ठाउँमा परेछ । सेन्टर थियो भेडा बजार । भेडा बजारसम्म घरबाट परीक्षा दिन जान असम्भव थियो । साँझ घरमा आएर बा आमालाई भनेँ , “सेन्टर त मेरो भेडा बजार परेछ । आउन जान नभ्याइने भयो कसो गर्ने ?” बाले भन्नुभयो, ” भोलि बिहानै तयार होऊ भेडाबजार गएर कोठा खोजौंला म पनि जान्छु । उता राजेशको घरमा पनि भन्नू । एक महिनालाई त हो दुइटी सँगै बस्नु । जे चाहिन्छ घरबाट लैजाउला । ” बा पल्लाघर लाग्नु भयो मैले सामान मिलाउन लागेँ । आज भेडाबजार जानू छ मन खल्लो छ । तैपनि मेरो भविष्य भेडाबजारसँग जोडिएको छ नगएर पनि भएन ।उताबाट राधा आई । हिँड्ने बेला सासुलाई ढोग गर्दा मन थाम्नै सकिन र आँसु झारें । आमा पनि रुनु भयो र भन्नुभयो, ” नरो केटोको केही बन्दोबस्त नमिलेरै होला फुन नगरेको । तँ गएपछि गरेछ भने राधाको नम्बर दिन लगाउँला कसैलाई । ” त्यसपछि हामी निस्कियौं । कोठा खोज्न कुनै कठिनाइ भएन । पुग्नासाथ पाइयो । बुवाले आफन्तकोमा जान्छु उतैबाट भोलि घर फर्किन्छु भनेर जानु भयो । राधा र म कोठाका सामान मिलाउन कस्सियौं । साँझ पर्‍यो पकाएर खाएर सुत्यौं । राधा त रातभर पनि फोनमा झुण्डिने रहिछे । उसँग बोल्ने राजेश मात्र होइन रहेछ । अरू धेरै रहेछन् ।

हुन त मोबाइलमा बोल्दैमा मैले गलत सोच्नु पनि नहुने हो तर सबैसँग बोल्ने तरिका चाहिँ उही राजेशसँग जस्तो थियो । हजारौं सपनाहरूको भारी बोकेर परदेशिन कसलाई रहर हुन्छ र विवाह भएको हप्ता दिनमै उहाँ गएको पनि त आखिर मेरो लागि हो । राजेशलाई पनि त राधासँगै जिस्किदै हाँस्दै गाउँघरमै बस्ने चाहना थियो होला । तर राधाले राजेशलाई धोका दिदै थिई । मैले सम्झाएँ पनि । सम्झायो उल्टो उसैले यसो भन्थी, ” आ दिदी राजेशलाई थाहा हुने होइन बोल्दैमा के भयो र ? बरु म पैसा दिउँला तपाईं पनि मोबाइल लिनुस् । मोबाइल भएपछि समय बितेको पत्तै हुन्न । तपाईं त गोबरै हुनुहुँदो रहेछ ।” त्यसपछि भने राधा मन पर्न छाड्यो मलाई । ऊ कोठामा पसी भने म कौसीमा गएर पढेर बस्थेँ । परीक्षा दिन आएकी केटीको चालढालमा परिवर्तन थियो । परीक्षा दिएर फर्केपछि पनि कहाँ जान्थी मलाई पत्तै हुँदैनथ्यो ।

आज अन्तिम परीक्षा हो परीक्षा सकेपछि साथीहरूले सिनेमा हेर्न जाने भनिरहेका थिएँ । मैले पनि त्यो सल्लाहमा सहमति जनाएकी थिएँ । परीक्षा सकेर आएर कपडा फेर्दै थियौं बाहिरबाट कसैले ढोका ढक्ढकायो । हतार हतार गएर हेरेँ गाउँकै देवर र जेठाजु पर्नेहरू रहेछन् । ढोका उघारेर सोधेँ, ” हजुरहरू कताबाट त यता ? एउटाले भने बजार आएका थियौं काकाले भाउजुहरू लिएर आओ है भन्नू भएको थियो र पसेका भाउजू । ” ” हामी त भोलि जाने निधो गरेका छौं ।” उनले फेरि बोले, ” सामान के के छन् निकाल्दिनु भाउजू आजै जाऊँ चारै जनासँगै ।” हामी बाध्य भयौं । सामान पोको बनाएर गाउँ आयौं । परबाट हाम्रो घरमा मान्छेहरूको भिड थियो । म झस्केँ । बा अथवा आमालाई केही भएछ कि ? हामी घरमा पुग्यौं ।बा-आमा रोइरहनु भएको थियो । म नजिकै गएँ । आमाले भन्नुभयो, ” यही अलच्छिनीले मेरो छोरो खाई । मलाई नछो अलच्छिनी ।” म भुइँमा बजारिएँ । मेरो होश गुमेको रहेछ । ब्युँझिदा म अस्पतालमा लडिरहेकी थिएँ । नजिकै राधा थिइ उसैले बेलीबिस्तार लगाई । खबर त्यसदिन आए पनि समुन्द्र पुरेर बन्दै गरेको बिल्डिङ्को ११ औं तलाबाट खसेर ढुंगामा बजारिएपछि उछिट्टिएर समुन्द्रमा पुगेका उनको लाशसम्म कत्ति खोज्दा समेत कम्पनीले भेट्टाएनछ । त्यो सुन्दासुन्दै चिच्याएर खुब रोएँ । बाहिर बस्नुभएका सबै जना रुनुभयो ।

मलाई हस्पिटलबाट डिस्चार्ज लेखिदियो । त्यतिबेला नै डाक्टरले भनेका थिए, ” तपाईं आमा बन्दै हुनुहुन्छ ।” गर्भमा उनको नासो बोकेर म कहाँ जाऊँ ? म जाने त्यही घर थियो । सासू आमाले जे भनेको भए पनि मैले सहनुपर्थ्यो किनकी हाम्रो समाज रुढीवादी संस्कृतिबाट मुक्त भइसकेको छैन । हरेक दिन हरेक पल मलाई यही मानसिक तनाव दिइन्थ्यो जुन म सुन्न पनि सक्दैन थिएँ । मेरै कारणले उनको ज्यान गएको पनि होइन नि । जति नै पढे पनि प्रमाण-पत्र भित्तामा झुण्डाएर पासपोर्ट हातमा बोक्नुपर्ने हाम्रो देशको पद्धतिको अगाडि मेरो के दोष ? मैले यही कुरा बा-आमालाई बुझाउनुछ र कोखमा बढ्दै गरेको उनको निशानीलाई उचित सम्भार गर्नुछ । साँच्चै अब यो घर मेरो लागि घर जस्तो थिएन । म कसैसँग बोल्नु हुँदैन थियो । थकाइ के हो म जान्दैन थिएँ । दुखेको बेला त्यही राधा हुन्थी मन बिसाउने चौतारी । तर घाँस दाउरा, मेलापातसँगै गरे पनि उसको व्यवहारमा भने रत्ति परिवर्तन थिएन । हिजोआज त जंगल जाँदा पनि कहिले कुन कहिले कुन केटा बोलाउँथी । नजिक पर्न नि डर लाग्थ्यो मलाई । झन् राजेशले अबदेखि तिमी शहरमा बस भनेका रहेछन् । शहर बस्नु नराम्रो होइन नि हुन त राम्रोसँग बस्नेका लागि ।

बा-आमा दिदी बहिनी लगायत धेरैको जिन्दगी अझै गाउँमा बितेको छ । राजेशको आँखाले राधाको दु:ख मात्र देखेछ । गाउँमा सबैको निगरानीमा रहँदा त यस्तो छ राधाको मति । झन् शहर गएपछि कसैको डरमा नहुँदा के होला ? घरीघरी त राजेशलाई भनिदिऊ जस्तो लाग्थ्यो तर उनीहरूको जिन्दगीको मामलामा म किन बोल्नु ? राजेशले मलाई नै उस्तो सम्झे भने ? मनमा अनेक कुरा खेल्छ । सूचना र प्रविधिले अचेल जताततैको घटनाहरू बताइरहेको छ त्यस्तै झैं राजेश भोलि घर आउँदा न धन न श्रीमती भयो भने ? उसले कमाएर पठाएको पसिनाको मूल्य लटपटाएर राधा अन्त कतै गइ भने ? भविष्य बनाउन राजेशले बुनेका सपनाहरू सबै चकनाचुर हुन्छन् । यस्तो खाले प्रवृत्तिको विकास भइरहेको छ । यो विकृति हो । यसलाई रोक्नुपर्छ ।म जत्तिको शिक्षित महिलाले यी सब कुरा थाहा पाएर पनि चुप बसेँ भनें समाज खोक्रो हुन्छ । भावी सन्ततिलाई समेत यसले नराम्रो असर पुर्‍याउँछ । समाजलाई सुदृढ बनाउन समाजका हरेक नागरिकको बराबर दायित्वहुन्छ । अब राधा रिसाए रिसाउँछे मैले राजेशलाई फोन गरेर भए पनि भनिदिनै पर्छ, भनिदिन्छु ।

               – खैरहनी नगरपालिका -३, चितवन ।

प्रतिक्रिया दिनुहोस्