Logo

गर्छन् नीच कृत्य किन्तु स्वअस्तित्व भुल्छन् सधैँ

 - अमर त्यागीका ५ गहकिला मुक्तकहरू

                                 मुक्तक -१

काँढाबीच फूलको त्यो थुङ्गा न हो जिन्दगानी

 सत्य ,निष्ठा,कर्मको त्यो डुङ्गा न हो जिन्दगानी

मर्म बुझे मूल्यवान् त्यो मोतीदाना हो चम्किलो

नबुझेमा बगरको ढुङ्गा न हो जिन्दगानी ।

 

                               मुक्तक -२

निर्धक्कले डुलिहिँड्छन् चिल,गिध्द,बाज यहाँ

परेवाको अस्मिता छ खतरामा आज यहाँ

निरीह छन् लाचार छन् सोझासिदा जीवजन्तु

धूर्त गोही र ब्वाँसाकै छ सर्वत्र राज यहाँ ।

 

                                  मुक्तक -३

स्यालहरू कुखुरा चोर्न घुऱ्यानमा पसेका छन्

घुऱ्यानमै मलसाँप्रो मौका ढुकी बसेका छन्

जताततै हुँडारकै हुँकार छ आजभोलि

गोमन र बिच्छीले नि निर्धालाई नै डसेका छन् ।

 

                                   मुक्तक -४

लुकीछिपी दूध चोरी खान्छन् सधैँ डाढेहरू

सधैँ अर्काकै भागको तर मार्छन् ढाडेहरू

अझै पनि उस्तैनै छ निर्धामाथि थिचोमिचो

गरीब ती किसानकै बाली चर्छन् साँडेहरू ।

 

                                 मुक्तक -५

 

कोपिला ती काँढाबीचै फक्रिएर फुल्छन् सधैँ

भमरा ती रस चुस्न उध्दत भै डुल्छन् सधैँ

बगैँचामा पसेपछि चैते ढेँडु बाँदरले

गर्छन् नीच कृत्य किन्तु स्वअस्तित्व भुल्छन् सधैँ ।

 

– गजल गुँड, नेपाल (हाल – आयोवा अमेरिका )

प्रतिक्रिया दिनुहोस्