गुराँस डाँफे – संवादात्मक कविता
– तारा बिष्ट
छन्दार्पण (छन्द : झ्याउरे)
गुराँस
झपक्कै फुल्यौ गुराँस फूल शोभा छ वनको
देखेर अहा गुराँस फूल प्रफुल्ल मन भो ।
रातो र सेतो गुराँस फूल रङ्गमा रङ्गियौ
छरेर लाली गुराँस फूल क्या विघ्न चम्कियौ।।
१
डाँफे
राष्ट्रिय चरा नौ रङ्गी डाँफे फुर्कायौ तिमीले
म भन्दा तिमी नौ रङ्गी डाँफे सुन्दर जहिले ।
छरेर नवौं नौ रङ्गी डाँफे रङ्गका किरण
चोरेर मन नौ रङ्गी डाँफे गर्यौ रे हरण।।
२
गुराँस
परेछौ तिमी गुराँस फूल राष्ट्रकै चिन्हमा
दुबैको यहाँ गुराँस फूल न होस् क्यै भिन्नता ।
आपसी भेद गुराँस फूल मनमा नराखौं
बनेर भिन्न गुराँस फूल एकलै नबाँचौं।।
३
डाँफे
मनको मैलो नौ रङ्गी डाँफे फाल्ने हो
कसरी फाटेको आत्मा नौ रङ्गी डाँफे टाल्ने हो के गरि ।
चेलीको हत्या नौ रङ्गी डाँफे हुने भो दिन्दिन
कानुन भन्छ नौ रङ्गी डाँफे हत्यारा चिन्दिन।।
४
गुराँस
यस्तै छ यहाँ गुराँस फूल देशको शासन
प्रितका माला गुराँस फूल हाँसेर गाँसन ।
जीवन छोटो गुराँस फूल काटौंला साथमा
कानुन न्याय गुराँस फूल पापीकै हातमा।।
५
डाँफे
देशको चिन्ता नौ रङ्गी डाँफे छ धेरै मनमा
के चल्छ हाम्रो नौ रङ्गी डाँफे बसेछौं वनमा ।
मालिक नेता नौ रङ्गी डाँफे लुटेर खाने छन्
मायाको तीर नौ रङ्गी डाँफे नहान तिमी झन्।।
६
गुराँस
जनता नेता गुराँस फूल उस्तै छन् देशका
पाखुरी काट्ने गुराँस फूल भाषा र भेषका ।
डुबाए देश गुराँस फूल टुक्र्याए मुलुक
स्वतन्त्र बाँच्ने गुराँस फूल उपाय नभुल।।
७
डाँफे
रहौंला कहाँ नौ रङ्गी डाँफे यो देश न रहे
स्वर्ग झैं प्यारो नौ रङ्गी डाँफे नेपाल नभए ।
बेचेर खाए नौ रङ्गी डाँफे खाँदै छन् लुटेर
गरिब दुःखी नौ रङ्गी डाँफे तर्साए चुसेर।।
८
गुराँस
पसिना रक्त गुराँस फूल चुसेर मार्ने छन्
नेपाली धन गुराँस फूल सखाप पार्ने छन् ।
बिश्वको माझ गुराँस फूल पछाडी परियो
चिनेनौ नेता गुराँस फूल यै भूल गरियो।।
९
डाँफे
नोटमा भोट नौ रङ्गी डाँफे बेचेर पछुतो
बोकाए भारी नौ रङ्गी डाँफे रिनको गह्रुङ्गो ।
गतिलो यौटा नौ रङ्गी डाँफे नायक मिलेन
पत्थर द्यौता नौ रङ्गी डाँफे पुकार सुनेन।।
१०
गुराँस
सुध्रिने कैले गुराँस फूल देशको हालत
महिला बृद्धा गुराँस फूल पीडित बालक ।
भरेर खल्ती गुराँस फूल महल बनाए
शासक बन्दै गुराँस फूल पाउमा दबाए।।
११
डाँफे
इज्जत लुटे नौ रङ्गी डाँफे मारेर चेलीको
के भर पर्नु नौ रङ्गी डाँफे जाली र झेलीको ।
भृकुटी तारा नौ रङ्गी डाँफे सीता र सतीले
दिदैछन् होला नौ रङ्गी डाँफे सराप अहिले ।।
१२
गुराँस
सम्मान छैन गुराँस फूल देशमा नारीको
बेचिए कैयौं गुराँस फूल सिमाना पारी पो ।
नेपाल आमा गुराँस फूल रोएको देख्दैनन्
कहानी कयौं गुराँस फूल डरले लेख्दैनन् ।।
१३
डाँफे
मिलेर गाथा नौ रङ्गी डाँफे दुबैले रचौंला
सहारा बनी नौ रङ्गी डाँफे स्वतन्त्र बसौंला ।
यो देश हाम्रो नौ रङ्गी डाँफे स्वर्ग झैं बनाऔं
हटाइ बाधा नौ रङ्गी डाँफे खुसी भै रमाऔं।।
१४
गुराँस
जनता मिले गुराँस फूल नहुने के छ र
नेपाल प्यारो गुराँस फूल बन्ने छ सुन्दर ।
हातेमालोमा गुराँस फूल शक्ति छ अपार
एकता भए गुराँस फूल शान्तिको बहार ।।
१५
डाँफे
नेपाली सारा नौ रङ्गी डाँफे स्वेदेश फर्किए
उर्वर धर्ती नौ रङ्गी डाँफे खनिए जोतिए ।
सुनौला बाला नौ रङ्गी डाँफे धानका फलाए
नेपाल बन्ला नौ रङ्गी डाँफे पाखुरी चलाए ।।
१६
गुराँस
गोठमा गाई गुराँस फूल भैंसीका बथान
फलाइ अन्न गुराँस फूल बनौला किसान ।
बिकास गरौं गुराँस फूल नेपाल बन्नेछ
बिश्वको माझ गुराँस फूल सम्मान मिल्नेछ ।।
१७
डाँफे
देशका युवा नौ रङ्गी डाँफे खाडीमा बेहाल
जिन्दगी खेर नौ रङ्गी डाँफे सित्तैमा नफाल ।
हिरामोति झैं नौ रङ्गी डाँफे युवक युवती
देशको सेवा नौ रङ्गी डाँफे गर्नु छ उन्नती ।।
– दाङ (हाल साउदी अरब)