Logo

हिमालको आवाज-२७

                 – डा.दामोदर पुडासैनी किशोर

तिमीले ठान्यौ होला बिर्स्यौ  होला हाम्रो भेटको कथा

सोच्यौ होला- उ कमलो माटो थियो

अचेल जमेर कडा चट्टान बनेको छ

 

एउटा बुढो लेखापालले जतनसाथ हिसाबको अभिलेख राखेझैँ

मैले पनि तिमीसँगको भेटघाटका तयार गरेको छु रोजनामचा

 

तिमी सर्वस्व सुम्पेर मेरो काखमा आएका थियौ

सर्वोच्च रहस्य खोज्न मेरो मुटुसम्म धाएका थियौ

तिमी फर्कँदा म झर्नै लागेको पहेँलो पात भएको थिएँ

अचेल तिम्रा सम्झनाहरू सुनपातीका नयाँ मुना जस्ता भएका छन्

तिम्रा सम्झनाहरू अचेल चिटिक्क सिलाइसकेपछि हालिएको

चौबन्दीका तुना जस्ता भएका छन्

 

मेरा अभिलेखमा तिमीले घाउलाई माया गरेर

मरुभूमिको मृगले पानी खोजिरहेझैँ

मेरो स्पर्श खोजेको चित्र छ

अक्सिजन नै हराएपनि

बाटोघाटो नै भत्काएपनि

भोंकको हुण्डरी चलेपनि

अन्धकारका लप्का बढेपनि

हरेक प्रश्नको उत्तरमा तिमीले केवल मेरो नाम दिएको

जबाफ पत्र सुरक्षित छ

 

तिमीले हिँडेको बाटो तिमी फर्कने बित्तिकै भर्जिन हिउँले छोपिदिएँ

तिमीले हिँडेका बाटाहरूमा कसैका पाइला पर्न दिएको छैन

 

हरेक पटक बतास आउँदा तिमीले मुटुले लेखेका

अक्षरका दानाहरू खोज्छु

हिउँका हरेक भुवाहरूमा

तिम्रा स्पर्शका समयका सुगन्धित चित्रहरू खोज्छु

 

तिमीले सोच्यौ होला नभेटेपछि मेटियो होला माया

पुरानो ढुङ्गामा लेउ,काई र झ्याउले छोपेझैँ

तिमी नभएपछि झन् झन् गाढा भएको छ माया

दिनहुँ हिउँले मैल माझिरहेको चम्किलो दर्शन ढुँगाझैँ

 

तिमी मेरो मुटुमा चढेर फर्किएपछि

तिम्रो माया जमेर ,हिउँको ढिक्का बनेकोछ

-२०७६ भाद्र ३०गते सोलुखुम्बु,सगरमाथा

नोट – आदरणीय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि डा.दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि डा.दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो । हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’ नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र डा.दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौँ । अझ खुशीको कुरा त डा .दामोदर पुडासैनी किशोर लेखापरीक्षण विषयमा विध्यावारिधि गर्ने नेपालको पहिलो विद्दान हुनुहुन्छ । आर्थिक व्यवस्थापन ,जीवनदर्शन र भ्रमणबाट खारिएका उहाँका कविताहरू हामीले निरन्तर प्रकाशित गरिरहेका छौँ । हजुरहरू जस्ता आदरणीय पाठकहरूले साह्रै मन पराइदिनुभएकोले हामी अत्यन्त उत्साहित छौँ । 

                                                                                                          –सम्पादक

प्रतिक्रिया दिनुहोस्