Logo

हिमालको आवाज-२५


               -दामोदर पुडासैनी किशोर

कित्ता कित्तामा घण्टीहरू बजिरहेछन्

खतराका क्षण क्षणमा बहिरहेछ अन्योलको कुहिरो

जोगाएर राखेको हिउँढिक्के मनमा पहिरो गइरहेछ

अनवरत बचेखुचेको आस्था र विश्वासको मूल पनि

खोइ कुन बेला बगिदिन्छ झुक्याएर पत्तै हुँदैन

 

सबै कुरा थपिँदै सबै कुरा सकिँदै गइरहेछ जिन्दगीमा

 तैपनि मनभित्र एउटा उज्यालो हिमाल हिँडिरहेछ

 

क्षण क्षणमा झूठो बनेर उभिन्छ समय

 क्षण क्षणमा साँचो साबित हुन्छ समय

 स्थापित गर्न खोजिएको हो विगतमा झुठोलाई

समयले साँचो थुम्काहरू उभ्याइरहेछ

 मैले बदल्न खोजिरहेँ समयलाई

समयले बदल्न खोजिरह्यो मलाई

एकले अर्कोलाई बदल्ने लामो बाटोमा

पाइलाहरूले भेटे कसैको पाइलासँग

 

सपनाका शृङ्खलाहरू छन् मेरा सिरानीहरूमा

 हिउँका आगोहरू जलाएर

 मैले तिम्रो अनुहारमा चन्द्रमा ब्युँताइरहेछु

 

चढेर कहिल्यै सकिँदैनन् हिमशृङ्खलाहरू

एउटा हिमाल चढेको खुशियाली मनाई नसक्दै

 उभिइरहेछ हाम्रो सामु अर्को लोभलाग्दो हिमाल

 

कमसेकम म र हिमाल थाकेका छैनौ अहिलेसम्म

निरीह समय आशाको नदी डोर्‍याउँदै

पछिपछि आइरहेछ इन्द्रेणी अनुहारमा

 

एउटा विशाल आगोको मुस्लो

जगाइरहेछु मैले संसारका सबै मान्छेहरूका लागि

निभाउन सक्नेछैनन् कसैले, कुनै दिशाबाट

 

-२०७६ आश्विन १ गते सोलुखुम्बु ,सगरमाथा

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्