हिमालको आवाज-२४
-साहित्यकार दामोदर पुडासैनी किशोर
मौन उभिएरै सर्वोच्च मूर्च्छना फिँजाइरहन्छ हिमाल
हरदम मौन ढिक्का निर्माण गरिरहेछ हिमालले
हिमालले हल्ला मन पराउँदैन
शिखर चढ्नेहरू चढिरहने हो निरन्तर
रोकिएर हल्लामा अल्झिएको सुहाउँदैन
हिमालमा चराहरू समयजस्तै गीत गाउँछन्
गीतले नै हिमाल ब्युँझाउँछन्
उकालो ओरालोलाई जीवन दिन्छन्
हिमाल चढ्दा चराहरूको ख्याल गर्नु
हिमालमा हल्ला चल्यो भने चराहरू ओरालो झर्छन्
चरा र हल्लाहरू कहिल्यै एकसाथ बस्न सक्तैनन्
हिमाल आलाप मन पराउँदैन
असरल्ल युद्धको कर्कश पनि मन पराउँदैन
तिमीसँग हिमाल रहेको बेला
घाउ लाग्ला हिमाललाई होस् गर
हिमाल झस्केला तिम्रा हाउभाउहरूले होस् गर
हात खुट्टामा घाउ लाग्न सक्छ
तर हिमाललाई कहिल्यै घाउ लाग्न दिनु हुँदैन
आँखा र कानहरूमा फल्न सक्छन् भ्रमका लहराहरू
हिमालमा धमिलो रँग मिसिन सक्तैन
हिमाललाई हिमाल नै रहन देऊ
हिमालको बर्खिलापमा
कुनै सपना र कुनै तैल चित्र कोरिन सक्तैन
अहंम्को मार्चपास हिमालले मागेको छैन
हिमाल चढ्नेहरू फेदीबाट हिमालझैँ बिस्तारै उक्लिँदै जानु
र हिम चुचुरोझैँ कायम राखिरहनु
आफ्नो उचाइ स्निग्ध,श्वेत र निर्गन्धी तरङ्गहरूमा
-२०७६ भाद्र ३० सोलुखुम्बु,सगरमाथा
नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।
हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’
नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।
–सम्पादक