Logo

    हिमालको आवाज-२३

         -साहित्यकार दामोदर पुडासैनी किशोर

छातीमा समुद्रहरू छन्

ती समुद्रहरू तिमीलाई दिन चाहन्छु

बिना कुनै शर्तमा

 

मैले विभेद सोचेर कुनै सन्तति जन्माएको होइन

म सन्ततिहरूलाई फैलँदै फैलँदै

नीलो समुद्र फिँजारिन भन्छु

पाखा लागेर फरक कित्तामा

 कुनै सन्तति उभिएको हेर्न चाहन्न

 

तिमी दूर छौ

दूर दर्शाउने बादलहरू छन् अनेक अनेक

म बादलका ढिक्काहरूका बैठक बोलाएर

तिम्रा सपनाहरूका

हिसाब किताब कोर्न खोजिरहेछु

 

मेरो इतिहासमा डढेलो लागेको छैन

मैले कसैको देवालयलाई

मूल थाम बनाएर कुल्चिएको छैन

मैले कसैको सपनालाई

भाँडा कुटी खेलेको छैन

मैले मान्छेलाई लेखेका प्रेम पत्रहरू

बिलकुल प्रेम पत्र हुन्

त्यसमा कुनै कुर्सीधारीको

तोक आदेशको जरुरत छैन

 

तिमी समयलाई औधी माया गर्छौ

 उँचाइलाई अँगालो हालेर माया गर्छौ

हिंडने,चल्ने र हल्लने सबै सबैलाई माया गर्छौ

मैले पनि तिम्रो समयलाई माया गरिरहेछु

र गरिरहेछु माया

बताससँगै भुवा उडिरहेका तिम्रा सपनाहरूलाई

 बिपना र सपनाको दोसाँधमा हुर्किरहेछ

 एउटा चहकिलो बत्ति

र ,बत्ति नजिकै दौडिरहेछन् केही जोर आँखाहरू

 

ज्वालाहरू सम्झनाका छन् ,सपनाका पनि छन्

केही पाउनु र गुमाउनुका अरू धेरै छन्

आँखा नजिक तरङ्गहरू आउँछन् ,

तिनका धेरै छन् ज्वालाहरू पिएर

 झन् झन् कडा जमिरहेछु म

 

मेरा छातीका भित्ताहरूले

माग गरिरहेछन् तिम्रा अक्षरहरूको

 

-२०७६ भाद्र २१ गते शनिवार होटल भ्याली भ्यू,खुम्जुँग ,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्