Logo

हिमालको आवाज-२२

            -दामोदर पुडासैनी किशोर

अक्षर र तस्बिर भन्दा अझै माथि

राख्न चाहेँ मैले तिमीलाई

र ,निर्माण गरेँ एउटा नवीन मन्त्र

तिम्रो नाममा रचेको मन्त्रले

अचेल हिमाल अड्याइरहेछ

 

मलाई कसैले जात ,धर्म,भाषा र रंग भन्दा

माथिको मन्त्र देऊ भन्यो

 मैले जोडसँग भनिदिएँ –

हिमाल !हिमाल !! हिमाल!!!

 

प्रकृतिका सुन्दर मन्त्रहरू थुप्रा थुप्रा थुप्रिए

उभिए हिमाल बनेर

हिमालले दिएका मन्त्रहरू

सुनाउँदै हिँडिरहेछन् पन्छी , पशु र मान्छेहरू

 

हिमाललाई मान्छेले स्पर्श गरेको प्रमाण देखाउन

मान्छेले माने ठड्यायो र उभ्यायो लुँगदारहरू

तिनै माने र लुँगदारहरूमा लेखिएका छन्

तिम्रा र मेरा खुशी,गुनासा र चाहनाहरू

 

बतासभरि तिमी उडिरहेको भेट्न चाहन्छु

कुहिरोका कण कणमा तिम्रै रँग दौडिरहेको छुन चाहन्छु

ढुङ्गा,माटो,आँगन र छानाहरूमा

तिमी नै उभिएको देख्न चाहन्छु छोर्तेन बनेर

तिम्रो दिमाग मात्रले पुग्दैन दिल पनि देखिरहन चाहन्छु म

त्यसैले कित्ता कित्तामा लेखेको छु तिम्रै नामका मन्त्रहरू

 

ढुङ्गामा कुँदिएका मन्त्रहरूमा लेउ जमिसक्यो

जीर्ण जीर्ण भैसके लुँगदरका अक्षरहरू

ओम मणिपद्मे हुँ को नाराले बोक्न सक्तैन अब

 संसारको स्थिति र गतिलाई

 ढुङ्गा,कपडा र कागजका मन्त्रहरूले

बोक्न सक्तैनन् अब मान्छेका ओजनदार आशालाई

संसारलाई उचाल्न सक्ने एउटा मन्त्र

म आफ्नै हिमाल उभ्याइरहेछु

 

युद्धमा जितेको बैँस मैले मन्त्रमा सजाइरहेछु

उकालो चढिरहेको बेला कानमै आएर फुसफुसाए

धूपीका हाँगाहरूले लजालु घाम बोकेका चराहरूले

मेरै पदचापमा छोडें कर्णप्रिय गीतका केस्राहरू

 हिउँका भुवाहरूमा नुहाउँदै गरेका ढुङ्गाहरूमा देखियो

तिम्रा सप्तरङ्गी इशाराहरू

ती सबैको संयोजनमा सजाएँ मैले

तिमीजस्तै सुन्दर निक्खर हिमाली मन्त्र

 

म सधैँ मन्त्रको झरीले नुहाउँछु

र ,गरिरहन्छु तिम्रो आराधना

तिमी र हिमाल भेटेपछि फिका फिका बन्छन्

संसारका सबै मन्त्रहरू

 

मन्त्रहरूलाई बिचार बनाएर कोरे

अहिलेसम्मका कुचीकारहरूले

 तिमीजस्तो मन्त्र भने न अघि लेखिएथ्यो

न पछि लेखिनसक्छ यो बिचित्र संसारमा

 

-२०७६ भाद्र २४ मङ्गलवार अल्पाइन कटेज लज,डोले ,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्