Logo

हिमालको आवाज़-२०

           -साहित्यकार ,दामोदर पुडासैनी किशोर

 हिमाल ज्यूँदो छ त्यसै भएर

 ज्यूँदा मान्छेहरू मात्र चढ्ने सक्छन् हिमालमा

 

भोक मलाई पछ्याउँछ म हिउँ टोकेर पेट भर्छु

 प्यास मलाई पनि छ म हिमनदी ब्युँझाउँछु

 र, जीवनका हिमागर फ्याँकेर हिमफूल फूलाउँछु

 

मलाई असाध्यै मन परेको मान्छे भन्दा

के बढी छ हिमालमा मैले छुट्ट्याउन सकेको छैन

 

हिमाल तिम्रो छातीको पदक वा लकेटमा अटाउन सक्दैन

मन लगाएर हिमाल चढ्यौ भने,

हिमाल आफैँ चढिदिन्छ तिम्रो पिठ्युँमा

 

हिउँ बर्सियोस् वा हिम आँधी  म आफ्नै लयमा गीत गाइरहेछु

अन्यत्र उज्यालो दिने नदिने घामकै छ एकाधिकार

हिमालमा भने हिमज्योति सापटी माग्न आइरहन्छ घामपनि

 

हिमालमा अक्टोपसहरू जुम्बा नाच्छन्

ड्रागनहरू गितार रेट्छन्

डाइनोसरहरू सधैँ हिँड्छन् हिमाल बनेर

 

हिमालका मान्छेहरू हिमाललाई पिठ्युँमा  बोक्छन्

र ,हिमआगो बटुलेर सेकिदिन्छन्

टाढा टाढाका मान्छेहरूलाई

 

मैले एउटा मान्छे भेटेको छु

हिमालको अन्तिम उचाइ पनि चुमेको छु

तर त्यो मान्छेको मनको अन्तिम गहिराइसम्म

पुग्न सकेको छैन

 

के हिमाल भन्दा अझै अग्लो हुन्छ मान्छेको मन ?

-२०७६ भाद्र २२गते आइतबार होटल एभरेष्ट भ्यू (समुद्र सतह भन्दा ४८०० मिटर उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको तारे होटल),सगरमाथा

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                                –सम्पादक

प्रतिक्रिया दिनुहोस्