शहिदहरूप्रति समर्पित केही मुक्तकहरू
मुक्तक -१
शहिदका आत्मा धरधरी रुँदैछन्
आँसुले जनता अनुहार धुँदैछन्
प्रजातन्त्रमा देश लैनो गाई
नेताज्यू पालैपालो दुहुँदैछन् ।
– दुर्गा वनवासी सिवाकोटी
मुक्तक -२
गौरवपूर्ण इतिहासलाई बर्बर बनाएको छ
सहिदप्रतिको आस्था मत्थर बनाएको छ
जसले देशको निम्ति भनेर आहुति दिए
आज उनैलाई देशले बेखबर बनाएको छ ।
-रामबहादुर परियार जुम्ला
मुक्तक -३
शहिदको नाम युगौँ युगसम्म कहिल्यै नमरोस्
सच्चा सहिदको कसैले पनि अवमूल्यन नगरोस्
गर्वका साथ भन्न सकूँ, वीर सहिद अमर रहुन्
परिचय हराएर, अज्ञात सहिद भन्न नपरोस् ।
-चेतनाथ दाहाल कानेपोखरी – २ मोरङ्ग ।
मुक्तक -४
तिम्रो बलिदानको मूल्य गई कहीँ बस्यो थाती
देशलाई हत्याएर नेता बन्दैछन् विश्वासघाती
बिर्सिएर सहिदको त्यागको मूल्य र मान्यता
सहिदको शालिकमा माला लाउनेको छ ताँती।
– लक्ष्मी रायमाझी खड्का बिराटनगर
मुक्तक -५
गाँस बास कपासको समस्या हल भएको छैन
श्रमजीवीहरूको जिन्दगी सरल भएको छैन
भोको पेट गिट्टी कुट्दै सहिदको आमा भन्नुहुन्छ
छोराको क्रान्ति आजसम्म सफल भएको छैन ।
– प्रचण्ड सापकोटा हर्मी – ३ गोरखा (हाल दक्षिण कोरिया)
मुक्तक – ६
छक्कापञ्जा र पदलिप्सा,आफ्नैका निम्ति ती जपना
ठूला देशका निम्ति सुनाइरहने, समृद्धिका ती थपना
ठूला आशको सधैँ तेल पेलाइ,भुलाइरहने खेल खेलाइ
सहिदका भन्दा त सधैंंभरी, माननीयका ती सपना ठूला ।
-संकलन गोम बिक्रम (कल्लाबारी, पाल्पा )