Logo

नारीलाई भने सधैँ फरक नजरले हेरेका हुन्छन्

 हिउँकला हाँसी खतिवडाका ( ५ मुक्तकहरू)

               मुक्तक – १

दैव र शत्रुहरूले पनि मलाई एकै चोटी घेरेका हुन्छन्

दुःख पर्दा साथ माग्दा आफ्नैले बोली फेरेका हुन्छन्

पुरुषले त जे जे गरे पनि सही भन्ने गर्छन् सबैले

तर हामी नारीलाई भने सधैँ फरक नजरले हेरेका हुन्छन् ।

                    मुक्तक – २

मेरो सौन्दर्यको निम्ति मुगा कोसेली बनाएर आइदिनू

टाढाको माया झनै गाढा मेरो माया पाएर आइदिनू

डर लागेर के गर्नु साँच्चै भर तिम्रै लाग्छ

प्रिय मन यो सिउँदोमा सिन्दूर भर्ने हिम्मत बढाएर आइदिनू ।

                     मुक्तक -३

तिम्रो फोटो टाँसेर राखे सधैँ यो छातीमा मैले

यादमा निदाउने सधैँ बानी पर्‍यो रातीमा मैले

तिमी त पराइसँग मस्त निन्द्रा लिन्छौ निस्ठुरी

अब भर परेर काम छैन विश्वासघातीमा मैले ।

                      मुक्तक -४

पौडी हान्न मन लाग्छ बगेको पानीमा

डुबूँ कि चुर्लुम्मै तिम्रै मायाको खानीमा

तिम्रो तस्बिर सजाएर राखेकी छु प्रिय

नियालेर हेर मेरो दुई आँखाको नानीमा ।

                 मुक्तक – ५

सुस्तरी सुस्तरी नरम दिलमा आउँछन् विचार गर्नुहोला

मृगनयनीझैँ चलाखीले चाल पाउँछन् विचार गर्नुहोला

तिमीबिना बाँच्नै सक्दिन भन्दै धोकेबाजहरूले पनि

होसियार ! स्वार्थरूपी माया लगाउँछन् विचार गर्नुहोला ।

                   – कट्टीपुर १ बौनिया कैलाली ।

प्रतिक्रिया दिनुहोस्