Logo

जाकिन्छन् एकदिन आफैँ खाल्डो खन्नेहरू

सुनिल अधिकारीका ५ मुक्तकहरू

                    मुक्तक – १

कति अवैधानिक सम्बन्धमा पनि नैतिकताको बर्को हुन्छ

वैधानिक सम्बन्ध जत्तिकै पनि प्यारो त्यो अर्को हुन्छ

तर जब टुट्छन् बिना आवाज यस्ता बेनामी सम्बन्धहरू

बाहिर सुनिन्न तर भित्र मनमा आवाज धेरै चर्को हुन्छ !

                 मुक्तक – २

मेरो हारमा रमाउँदै आज खुच्चिङ भन्नेहरू

मेरो अघि ठिक्क पार्दै साखुल्ले बन्नेहरू

दिन सबको सधैँ एक समान कहाँ हुन्छ र

जाकिन्छन् एकदिन आफैँ खाल्डो खन्नेहरू !

                मुक्तक – ३

सुन्दछु, सुरक्षाको नाममा तिमी बाज पाल्न थाल्यौ

अनि बुझेँ कुटिल दिमागले नयाँ चाल चाल्न थाल्यौ

सीधा-सादा परेवाबाटै तिमी असुरक्षित छौ भने नत्र भन,

तीनैलाई फेरि किन दाना हाल्न थाल्यौ !

                        मुक्तक – ४

उचित शिक्षा र संस्कार दिन अभिभावक कतै चुकेको छ

अमानवीय नाङ्गो नाचले मानवताकै मुखमा थुकेको छ

भनिन्छ लज्जा बोधले नारी मात्रै आफ्नो नजर झुकाउँछन्

नरपशुको कुकृत्यले आज सम्पूर्ण पुरुषको शिर झुकेको छ !

                        मुक्तक – ५

सुख दुःख समेटिएको गीत गाउने धोको थियो

ईर्ष्या लाग्ने खालको माया लाउने धोको थियो

मौसमसँगै मौसम जस्तै बदलिने त धेरै भेटेँ

जिन्दगी बदल्ने कोही साथी पाउने धोको थियो !

         –  स्वयम्भू, काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस्