Logo

हिमालको आवाज-१९

       -साहित्यकार ,दामोदर पुडासैनी किशोर

मैले ताललाई समय दिएँ तालले मलाई तरङ्गहरू सिकायो

 किनारमा उभिएर ताललाई हेरिरहेको बेला

ताल त समुद्र बनेर पस्यो मभित्र

 

जमेको हिमतालमा ढुङ्गा खियाउन चाहन्न म

मलाई तरङ्ग चाहिन्छ जीवनमा होस् या तालमा

 

मलाई सधैँ तिमीलाई हेरिरहुँजस्तो लाग्छ

सधैँ नजिक उभिएर तिम्रा किनारहरू चलाउँजस्तो लाग्छ

घरीघरी हत्केलामा उचालेर उकालो चढूँजस्तो लाग्छ

तिमीमाथि फाल हालेर पौडन भने आँट गरेको छैन मैले

म त सतह हेर्दै हिँडिरहने घुमन्ते न हुँ ,केवल घुमन्ते

तिमी भने विशाल ताल हौ

 तिम्रो लम्बाई,चौड़ाई ,गहिराई र तिम्रो तातो चिसो

मैले खुट्ट्याउन सकेको छैन

नबुझी तालसँग जिस्किनु खस्नु हो अग्लो भीरबाट

मैले सोधेँ -मृत्यु के हो ? तिमीले सोध्यौ-जीवन के हो ?

तालमा पौडन थालेपछि थाहा पाएँ,

 जीवन त होसियारीपूर्वक तालमा पौडनु हो रहेछ

पौडन सकुन्जेल जीवनको सर्वोच्च आनन्द

पौडन साहस नगर्ने हो भने क्षणमै ढुँगा झैं तालको पिँधमा

तिमी र ताल दुबैलाई होसियारीको तरङ्गमा राख्न चाहन्छु म

 

तरङ्गित आँखाहरूलाई पछ्याउँछु म

आँखाहरूमा साँच्चै टिलपिल टिलपिल चलेको हुनुपर्छ नवीन रोशनी

फैलिएको हुनुपर्छ जीवनका असीम बिम्ब प्रतिबिम्ब

कयौं हिमालहरू अटाएका छन् एकै तालमा

 म तिम्रो आँखामाथि बिम्ब बनेर चल्न खोजिरहेछु

 

हिमालको अघिल्तिर घामलेपनि हैकम चलाउन सक्दैन

घाम अनुमति माग्छ हिमतालमा पौडन

र,हिम भित्ताहरूमा पार ताप्न

हरेक क्षण मैले तिम्रो रखबारी गरेझैँ

हुस्सु,कुहिरो र बादलले क्षणमै लुकाउँछन् ताललाई

र क्षणमै देखाउँछन् हिमाललाई

तिम्रा नीला र चम्किला आँखाजस्ता हिमताललाई

एक अन्जुली उचाल्दा पनि बिसाएँ मैले अहिले सम्मका सबै पीडा

 

घाम र हिमालको सम्मेलन चलिरहेको बेला

 म कुन किनारबाट पसुँ तालको गहिराइमा

अथवा बोकूँ पिठ्युँमा  तिमीलाई झैँ

र चढौँ उकालो हिमशिखरहरूमा

 

हिमाल चढिरहेको बेला भेटिएको ताल र

कयौँ बर्षपछि भेटिएको बैँस उस्तै उस्तै लागिरहेछ

बैंसमा तिम्रो चुल्ठोमा सिउरिदिएको हिम गुराँसको स्पन्दन

र मैले भेटेपछि तालले दिएको कम्पन

उस्तै उस्तै लागिरहेछ

 

हिमालमा तिमीलाई खोजिरहेथे

तिमीले ढाकाको खास्टो खोलेर उभिएझैं

कुहिरो पन्छाएर एक्कासि उभियो ताल मेरो अघिल्तिर

-२०७६ भाद्र २६ गते बिहीबार गोक्यो नमस्ते होटल,तेस्रो गोक्यो ताल ,सगर माथा (४८००मिटर उचाइ)

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                           –सम्पादक

प्रतिक्रिया दिनुहोस्