Logo

आखिर अहम् केका लागि ?

लक्ष्मी नेपालका ५ मुक्तकहरू

              मुक्तक – १

बाँचुन्जेल के के भोग्नु पर्छ भन्न सकिन्न

समयले कुन दिन घात गर्छ भन्न सकिन्न

उज्यालो भविष्य सम्झेर मेहनत गर्दा-गर्दै

कुन दिन आफ्नै जीवन मर्छ भन्न सकिन्न ।

               मुक्तक -२

थाती राखी आफ्ना रहर, बुझाएका छन्

बेचेर आफ्नै जग्गा घर, बुझाएका छन्

जनताको पीडा नबुझ्ने नामर्द सरकारलाई

जनताले आफ्नै लाशको कर बुझाएका छन् ।

                मुक्तक -३

समस्या हुँदा मिलेर जुध्न सके विभेद हुँदैन

मान्छे मान्छे एक भनेर बुझ्न सके विभेद हुँदैन

सबैले आफ्नो मनबाटै व्यवहार परिवर्तन गरी

सबैलाई मान सम्मान गरी पुज्न सके विभेद हुँदैन ।

                मुक्तक -४

छोडेर सधैँ अरुकै भरमा, नबिर्सिदिनुहोला

जिन्दगीको कुनै पनि प्रहरमा, नबिर्सिदिनुहोला

तपाईँहरू देश-विदेश जहाँसुकै हुनु भए पनि

वृद्ध आमा-बा हुनुहुन्छ घरमा, नबिर्सिदिनुहोला ।

                मुक्तक – ५

सबैले छोड्नै पर्छ यो जमिन, आखिर अहम् केका लागि

गम्भीर भई सोच्नुहोस् एकछिन, आखिर अहम् केका लागि

तेरो मेरो भनी झगडा गरेको देखेर अचम्मित छु म आफैं

एउटै घाटमा जल्नुछ एकदिन, आखिर अहम् केका लागि ।

                                              – सुनसरी ।

प्रतिक्रिया दिनुहोस्