लुट्नु तिनैलाई लुटेका छन्
गोम बिक्रमका ५ मुक्तकहरू
मुक्तक -१
घाँस-दाउरा लेक-बेसी, कहिले हाँस्दै-रुँदै गयो
आधी जीवन जसोतसो, मनको दुःख धुँदै गयो
पुर्खाले बरु पसिना साटे, सन्ततिले डाँडा काटे
नातिका लागि आफ्नै पाखा, झन् बिरानो हुँदै गयो ।
मुक्तक – २
बल बैसका उर्वर युवा, विदेशतिर भासिँदै गए
बूढा पुराना घटेपछि, साधना पनि नासिँदै गए
सुन्दै अचम्मै लाग्ने भयो, ममता छुट्टै जाग्ने भयो
जगेर्ना हुनु पर्ने कति, लोक-संस्कृति मासिँदै गए ।
मुक्तक -३
अलग्गिएका दिल नि फेरी, गाँसिए पो प्रीति हजुर
दुःख भुलाई खुसीसित, हाँसिए पो प्रीति हजुर
संसारमै नमूना होस्, जसलाई पनि सम्झना होस्
चखेवाको जोडी जस्तै, बाँचिए पो प्रीति हजुर ।
मुक्तक – ४
पद ओगटी कुर्सीमाथि, गोडा खापेका छन्
अझ भ्रममा पारी दुनियाँलाई, दामै छापेका छन्
अझ चोखिने कामकाज उस्तै, कलंकितको राज उस्तै
समाजमा खोल ओढी, सम्मान थापेका छन् अझ ।
मुक्तक – ५
शोषक सामन्त चुपचापसित, एक मत भएर जुटेका छन्
निमुखा जनताको आँसुले, बलिन्द्र धारा छुटेका छन्
नारा जुलुस विरोध गरून्, चुर्लुम्मै रिनमा डुबी मरुन्
चित्कार कहिले सुनिँदैन, लुट्नु तिनैलाई लुटेका छन् ।
– कल्लाबारी, पाल्पा । २०७७ पौष १२