Logo

परेली भिजाउने दिन आउँदैछ नेता ज्यू !

संघर्ष प्रयासीका ५ मुक्तकहरू

                  मुक्तक – १

फेरि हामी सामु बिन्ती बिसाउने दिन आउँदैछ नेता ज्यू 

आश्वासनले भरोसा दिलाउने दिन आउँदैछ नेता ज्यू 

हाम्रै बुई चढेर आफ्नो सातौँ पुस्तासम्मलाई पुर्याउन

हो याचनाले परेली भिजाउने दिन आउँदैछ नेता ज्यू ।

                मुक्तक – २

यस्तो बाध्यता र समस्याको बाटोमा दगुर्न नसक्दा

जातीय र वर्गीयताको ठूलो खाडल पुर्न नसक्दा

ठूला मस्किँदै साना मुर्छिदै बाँच्नु परिरहेछ अझै ,

सबैलाई समताको डोरीले बाँध्ने मिति जुर्न नसक्दा ।

                 मुक्तक – ३

मुटुभित्र अतीतले घोच्छ घरीघरी

निर्दयी भै समयले ठोक्छ घरीघरी 

 हरेक पल निराशाले छाँंउदाखेरी

दुःखी मनले गलत सोच्छ घरीघरी । 

           मुक्तक – ४

सङ्लो खोला हरियो वन सम्झिरहेछु

गट्टा खेलेको त्यो आँगन सम्झिरहेछु

सपनाको उडान भर्न परदेश पसी

एक्लिएँ अनि आफ्नोपन सम्झिरहेछु ।

               मुक्तक – ५

सुन्दैछु ऊ मदेखि साँच्चै रुष्ट छ अरे

अब अरुकै मायामा सन्तुष्ट छ अरे

पोखियो भन्दैछ मैले दिएको माया जति

औकात मिल्नेको नै एकमुष्ट छ अरे ।

 

प्रतिक्रिया दिनुहोस्