Logo

हिमालको आवाज-१७

         -साहित्यकार ,दामोदर पुडासैनी किशोर

शिखरको चुचुरामा पुगिसकेपछि सोचेँ

यो त सुरूवात मात्र हो

अझै चढ्न बाँकी छन्  मैले चुचुराहरू

 

चढ्दा चढ्दै चढिसकिएलान् एकदिन हिमालहरू

 तर, जीवनको हिमाल भने चढेर कहिल्यै सकिँदैन जीवनमा

बल्ल बल्ल एउटा चढ्यो अर्को उभिइहाल्छ अघिल्तिर

 

तिमीसँग चढिरहेको बेला तिम्रा प्रतिध्वनिहरूले

काउकुती लगाइरहन्छन् मलाई

म आगो ओकलेर हिउँ पिइरहेको हुन्छु

 

म मेरा हरेक प्रतिध्वनि तिम्रा हरेक क्षणहरूमा

गुन्जिरहने बनाउन चाहन्छु

समयलाई सुन्दर प्रतिध्वनि बनाएर

तिम्रो चुल्ठोमा सिउरिन खोजिरहेछु

 

म हिम हावा जम्मा गरेर मूर्च्छना छोडिरहेछु

र खोजिरहेछु प्रिय प्रतिध्वनि

 

हिमालमा निरन्तर ब्युँझिरहन्छ कडा बतास

त्यसैमा बजिरहन्छ प्रतिध्वनिको पियानो

हिमाली प्रतिध्वनिहरू सम्हाल्न नसक्ने हो भने

चढ्न आँटै नगरे हुन्छ हिमालमाथि

 

हिमाली प्रतिध्वनि थेग्न हिम हाँगा भएको धुपी बनेर पुग्दैन

हिमध्वनि समातेर टिक्न सक्ने हिमजरा फिँजाउन सक्नुपर्छ

 कडा हिमशिलाहरूमा

 

म तिम्रा प्रतिध्वनि खोज्दै हिमाल चढिरहेछु

मलाई विश्वास छ

तिम्रा प्रतिध्वनि भेटेपछि तिमीलाई भेट्न धेरै कुर्नुपर्ने छैन

 

प्रतिध्वनि भेट्ने बाटाहरू कठिन र डरलाग्दा छन्

हरेक कठिन बाटाहरूले पुर्याउनेछन् असीम सौन्दर्यमा

ठाडो ढुङ्गामा नयाँ बाटो कोरेर

डोरीमा ज्यान झुण्ड्याउँडै चुचुरातिर लम्किरहेको बेला

गुन्जिरह्यो मेरो कानमा तिम्रो प्रतिध्वनि

 

-२०७६ आश्विन ५ गते आइतबार होटल माउन्टेन भ्यू,ओखलढुङ्गा

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्