Logo

सपनामा खाको घिउले

हरिकृष्ण काफ्ले का ५ मुक्तकहरू

            मुक्तक – १

भित्री होस वा बाहिरी, बेदाग कुनै अनुहार हुँदैन

दुःख छोपिन्न लोसनले, सुखको श्रृंगार हुँदैन

चाहना हो ठुलै राख्नु रहर गर्नु पाप होइन ,

यसो त सपना अनेक देखिन्छन्, तर सबै साकार हुँदैन ।

 

              मुक्तक – २

कति उच्च सोच राख्छौ ? कर्म बोलोस् विचार बोलोस्

मुख बोलेर हुन्न साथी, आचरण र व्यवहार बोलोस्

क्षणभङ्गुर हुन्छ भन्छन् अरू सारा प्राप्तिहरू

जिन्दगीमा मिठास भर्न, मुस्कान बोलोस् प्यार बोलोस् ।

 

           मुक्तक – ३

देख्न सुन्न पर्छ सधैँ, घटना विपरीत भा’को,

होहल्ला र झुट सामु,न्याय प्रभावित भा’को,

जति भाका फेरुन् तर रत्ती पनि सुहाउँदैन

बेचिएका जिब्रोहरूले, देशभक्तिको गीत गा’को ।

 

           मुक्तक – ४

भविष्यलाई डोहोर्याउने,सबको आफ्नै अतीत हुन्छ,

आफ्नै दम्भ दुष्टताले, मान्छे आफैँ पतित हुन्छ

राख्नलाई त झिँगो पनि उड्न सक्ने खुबी राख्छ,

तर उसका हरेक उडान, फोहोर तिरै सीमित हुन्छ ।

 

             मुक्तक – ५

उम्री बढ्ने शक्ति भए ,संसार ढाक्छ एउटा बिउले

महाभारत युद्ध भा’थ्यो, दाजुभाइको सानै निहुँले

हस्तिनापुर हात पार्न कैयौँ युद्ध लड्नुपर्छ,

विपनामा जीउ लाग्दैन, सपनामा  खा’को घिउले ।

– हरिकृष्ण काफ्ले चन्द्रपुर -४,रौतहट ।

प्रतिक्रिया दिनुहोस्