हामी कति ज्ञानी हजुर !
मिना चौलागाईका ५ मुक्तकहरू
मुक्तक – १
आफ्नै मातृभूमि लुटाउँछौँ हामी कति दानी हजुर
दिन्छौँ वन जंगल नदीनाला सबै शुद्ध पानी हजुर
सिंहदरबारभित्र भेडा बाख्रा गाउँ-गाउँमा चितुवा अनि
सर्प पाल्छौँ अमृत खोज्छौहामी कति ज्ञानी हजुर !
मुक्तक – २
आउँछु भन्यौ हुन्छ भनेँ, जान्छु भन्यौ, रोक्न सकिनँ
नौनी सम्झी जतन गर्दागर्दै पत्थर बन्यौ, रोक्न सकिनँ
आँखा चिम्लेर हिँडिरहेँ विश्वासलाई छातीमा सँगालेर
म हिँड्ने बाटो बिचमा खाडल खन्यौ, रोक्न सकिनँ !
मुक्तक- ३
मीठो बोल्न सिक्न सकिन्छ कोइलीको गला हेरेर
धैर्यवान् बन्न सकिन्छ हिमालको शृङ्खला हेरेर
जानिएन भन्दै बित्छ मान्छेको आधा जिन्दगानी
धेरै सिकिन्छ ध्यान दियो भने प्रकृतिको कला हेरेर !
मुक्तक- ४
हिजो जेजे थियो ती सबै सही आज मान्नु हुन्न
जीवनका लागि पाखुरा साट्न लाज मान्नु हुन्न
अरूलाई गराई आफू खाने सामन्तवादी सोच हो
नगरी पौरख बनेकालाई ठुलो ताज मान्नु हुन्न !
मुक्तक – ५
मलाई एउटा छुट्टै संसार देखेर आउने मन छ
माथि त्यो जूनको आँगन टेकेर आउने मन छ
मन छ बेग्लै अनुभव बटुलेर फर्केर यही धरा
निक्कै माथि देशको नाम लेखेर आउने मन छ !
– पाँचखाल , काभ्रे । १३ पुस २०७७