Logo

हिमालको आवाज-१५

     

 -साहित्यकार ,दामोदर पुडासैनी किशोर 

आऊ साहस छ भने म माथि चढ

लहडमा कसैमाथिपनि चढ्नु हुँदैन

चढ ,पाइला पाइलामा होसपूर्वक चढ

 

बेहोशीमै चढ्नेहरू

फसेका छन् ,लडेका छन्

लड्नेहरू कि उठेकै छैनन्

कि लजाएर पसेका छन् कुना कुना

 

उचाइ चढ्नेहरू नै हो लड्ने

लडेपछि उठ्नै नसक्नेहरू

पल्टन्छन् ढुङ्गा बनेर

चढ्नै आँट नगर्नेहरू

लड्छन् पनि कसरी ?

 

चढ्नेले फकाउन जान्नुपर्छ

 फूल अक्षता र धूप

धूपावर पनि गर्न जान्नुपर्छ

चढ्नेलाई सजिलै सहमति

दिन्छ कसले ?

मसक्क आँट गरेर

तन ,मन र धन लगाउने हो

भने नचढी व्यर्थै फर्कनु पर्दैन

 

चढिसकेपछि चढ्ने ठाउँ बाँकी हुँदैन

 उचाइमा पुगिसकेपछि

सान ,मान र आन बेग्लै हुन्छ

चढाउनेसँग पनि गाँसिन्छ इज़्ज़त

चढिनै सकिएपछि

चढाउनेलेनै फैलाउन थाल्छ वासना

पर पर चढिसकिएपछि

खसिएला भन्ने डरनै हुँदैन

 

मलाई मीठो माया दियौ

कन्यायौ,कुर्मुरायौ र फकायौ

मायाले सर्वस्व सुम्पेपछि मात्र

चढ्न दिएको हुँ मैले

मेरो सर्वोच्च उचाइमा

 

मायालु उचाइमा चढनेहरूले मात्र

पिउनेछन् जीवनको सुस्वाद रस

पटक पटक नचढ्ने

पटक पटक लड्दैन

लड्ने डरले नचढ्नेले

सतह बाहेक केही भेट्दैन

सतहमै बसिरहनेले

कहाँ भेट्छ उचाइको आनन्द

कहाँ भेट्छ गहिराइको आनन्द

 

 चढ्दा पीडाहरूले पछ्याउँछन्

चढिसकेपछि तिनै पीडाहरू

 धमाधम खुशीमा बदल्न थाल्छन्

चढ, चढेर एउटै उचाइमा मात्र बसेर

जीवनको अर्थ हुँदैन

संसारमा एउटै मात्र चुचुरो छैन

एउटा चढ ,त्यसपछि

खोज्न थालिहाल अर्को चुचुरा

हरेक चुचुराहरू बेग्लै छन्

एउटामाथि चढ्नुमा

अर्कोसँग तुलना हुँदैन  

 

 म मात्र हुँ विश्वको सर्वोच्च शिखर

म मात्रमा छ

विश्वको सर्वोच्च आनन्द

चढ्नुनै छ भने बनाऊँ

ममाथि चढ्ने अन्तिम लक्ष्य

सर्वोच्च चुचुरा चुमिसकेपछि

जीवनका कुनै ढिस्काले

कुनै पाइलामा अल्झाउन सक्दैन

 

चढ या नचढ तिम्रो खुशी

नचढी फेदीमै बस्नेले

उचाइका असीम दृश्य देख्दैन

 

 आऊ ,साहस गर

साहसीलेनै त हो चढ्ने म माथि

-२०७६ आश्विन ३ गते शुक्रवार (जिल्ला समन्वय समितिको सभाकक्ष ,सोलुखुम्बु)

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्