Logo

हिमालको आवाज-१४

        -साहित्यकार ,दामोदर पुडासैनी किशोर 

हिजोसम्म झरी थियो

झरीको झमझम संगीत थियो

आज झरी सकियो

फेरियो सबै लय ,

फेरिए सबै कथाहरू

 

हिमालहरूले उँचाइबाट

आकाश सुमसुम्याईरहेछन्

हिमालभन्दा अझ अग्ला छन्

बादलका पहाडहरू

बादलहरू सर्वोच्चताको अहंलाई

पर्दा लगाएर कोपर्छन्

चारैदिशाबाट अथवा,

छोप्ने देखाउने गरिदिन्छन्

हिम सौन्दर्यलाई

दुलही घुम्टोको फेरबदलझैँ

 

झरीले एकाग्रता ल्याएको छ

चलायमान पर्दाभित्र

 ध्यानमग्न छन् चुचुराहरू

हिमालमा झरी परेपछि

पग्लने होइन जम्न थाल्नेछन्

हिमालका बिचारहरू

मलाई पनि मनको

 अन्तिम सिमानासम्म बर्सेर

एउटा नवीन बिचारको

हिम ढिक्का जम्न मन लागिरहेछ

 

कति निरस हुन्थ्यो होला

मलाई एकोहोरो हिम ज्योति स्तम्भले

संसारभर किरण छरिरहन

कति गाह्रो हुन्थ्यो होला

मलाई एकोहोरो घामको

कडा आँखाहरूले

मेरा अंग प्रत्यङ्गको 

अस्मिता बचाउन

 

झरी बर्सन्छ ,

कुहिरोले सुमसुम्याउँछ

र त जागा भइरहन्छु म घरीघरी

 

मलाई ठिङ्ग एक्लो हिमाल

उभिइरहनु छैन

भिजिरहन पाउँ

झरीमा ओढिरहन पाउँ

बादल,हुस्सु र कुहिरो

सुनिरहन पाउँ

जीवन झरनाका नवीन गीत

 

मलाई एक्लै उभिएर

संसारका कसैको पनि

छड्के आँखामा पर्नु छैन

मलाई घरीघरी तिमी म माथि

झरी बनेर बर्सिएको मन पर्छ

म जीवनभित्र

झरीको नवमूर्च्छना खोज्न

हर्दम् उकालो चढिरहेछु

-२०७६ आश्विन २गते बिहीबार याक होटल ,लुक्ला,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

                        –सम्पादक

प्रतिक्रिया दिनुहोस्